आर्थिक अभावमा थला पर्दै प्रतिष्ठान

जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा बनेको छ ।

पहिले गाउँका विपन्न नागरिक रोग पालेर मृत्यु कुर्न बाध्य थिए । विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको छ । प्रतिष्ठानले कोरोना महामारीको बेला कर्णालीलाई सुरक्षित राखेर प्रदेशका अधिकांश जिल्लामा ६० जना डाक्टर परिचालन गरेर महामारीविरुद्ध लडेको थियो । ‘प्रतिष्ठान कर्णालीको गौरव हो, कर्णालीको आयु हो, प्राण पनि हो ।’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ।

विगतमा स्वास्थ्य सुविधाको त कुरै छोडौं, कसैको अस्वाभाविक मृत्यु भएमा पनि लास पोस्टमार्टमका लागि डाक्टर कुर्नुपथ्र्यो, सामान्य हात खुट्टा प्लास्टर गर्न पनि नेपालगन्ज, काठमाडौ लगायत ठूला सहरमा जानुपथ्र्यो । ‘पैसा हुनेहरू सुविधा सम्पन्न अस्पताल खोज्दै जिल्लाबाहिर जान्थे, विपन्न रोग पालेर मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो,’ श्रीमतीको पाठेघर अप्रेसन गर्न प्रतिष्ठान पुगेका भेरिखोलाका देवीलाल रावलले सुनाए । ‘जुम्लामै अत्याधुनिक सुविधासहितको प्रतिष्ठान हुँदा खाना खर्चबाहेक अरू केही लागेन, विपन्नका लागि यो प्रतिष्ठान भरोसा बनेको छ,’ प्रतिष्ठानमा सस्तो, सुलभ र सहज उपचार सेवा पाउँदा दुर्गमका नागरिक खुसी छन् ।

प्रतिष्ठाने २०७१ सालमा सेवा सुरु गरेपछि हालसम्म ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरंग र ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा लिएका छन् । त्यस्तै, ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् । भने मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । १४ वटा घरभाडामा लिएर प्रतिष्ठान सञ्चालन भइराखेको छ ।

जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज होस्टेल, प्रशासनिक भवन, आवासी भवन निर्माणका निम्ति झन्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिए पनि सरकारले बेवास्ता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईले बताए । ‘चन्दननाथ नगरपालिकाभित्र पर्ने चेरे चौरमा प्रशासनिक तथा शैक्षिक भवन निर्माण गर्न स्थानीय झन्डै ५ सय रोपनी जग्गा दान गरेका छन् तर प्रतिष्ठान बजेट अभावले थला पर्दै छ,’ प्रवक्ता भट्टराईले भने । राजधानी दैनिकबाट

You May Also Like