निमित्तका भरमा नगरपालिका

रुकुम पश्चिम । जिल्लाका ३ वटै नगरपालिका मसीकोट, चौरजहारी र आठबीसकोट लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपसचिवको दरबन्दी तोकिए पनि जिल्लाका सबै नगरपालिकाले निमित्तका भरमा छन् ।

सदरमुकामसमेत रहेको मुसीकोटमा सातौं तहका अधिकृत कुवेर केसी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । चैत मसान्तमा तत्कालीन निमित्त प्रमुख विनाराम खड्काले जिम्मेवारी त्यागेपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । सदरमुकामसमेत रहेको सबैभन्दा पुरानो यस नगरपालिकामा ६ वर्षमा ११ जना कार्यालय प्रमुख आइसकेका छन् । यसमध्ये जम्मा ५ जना मात्रै दरबन्दी अनुसारका भएको र बाँकी सबै निमित्त भएको प्रशासन शाखाका अधिकृत सुदर्शन शाहले बताए ।

अर्को नगरपालिका चौरजहारीमा पनि निमित्त कार्यालय प्रमुखबाटै सेवा प्रवाह भइरहेको छ । शिक्षा अधिकृत शेरप्रसाद ढकाल १० महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । उनले असार १५ देखि यो जिम्मेवारीमा छन् । ‘कार्याधिकार त पूरापूर हुन्छ, तर आफ्नो विषयगत शाखाको भन्दा फरक जिम्मेवारीमा काम गर्नुपर्दा असहज त हुन्छ नै,’ उनले भने, ‘अन्य कर्मचारी र जनप्रतिनिधिको सहयोगमा नियमानुसार काम गरेमा गुनासो भने आउँदैन ।’ नगरपालिकामा हालसम्म ७ जना कार्यालय प्रमुख आइसकेका छन् । यसमध्ये १ जना मात्रै दरबन्दी अनुसारको जिम्मेवारीमा आएको नगरपालिकाले जनाएको छ ।

आठविसकोट नगरपालिका पनि सुरुदेखि नै निमित्तका भरमा चलिरहेको छ । २०७८ भदौ १६ गतेदेखि हालसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जनस्वास्थ्य निरीक्षक मणिराज शाह कार्यरत छन् । अहिलेसम्म ३ जना अधिकृत आएको र सबै निमित्त भएको बताउँदै शाहले काम गर्न भने कुनै अप्ठ्यारो नभएको जनाए । ‘दरबन्दीअनुसारको कर्मचारी भएमा हामीले आफ्नो शाखाको जिम्मेवारी सम्हाल्थ्यौं र सेवा प्रवाह झन् राम्रो हुन्थ्यो,’ उनले भने ।

तर जिल्लाका ३ वटा गाउँपालिकामा भने दरबन्दीअनुसारकै कार्यालय प्रमुख छन् । संघीय संरचनाअनुसारको एउटा महत्त्वपूर्ण तहका रूपमा रहेको स्थानीय सरकारको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दरबन्दीअनुसार कर्मचारी हुनुपर्नेमा जनप्रतिनिधिहरूले नै बेवास्ता गरेको नागरिक अगुवा नरबहादुर लम्सालले बताए । ‘कर्मचारीको परिपूर्ति र उनीहरूलाई उचित जिम्मेवारी दिने कुरामा लापरबाही गरिन्छ,’ उनले भने, ‘जसले गर्दा सुशासन र सेवाप्रवाहमा गम्भीर असर परिरहेको छ ।’

नगरपलिकामा दरबन्दीअनुसारको कार्यालय प्रमुख हुनुपर्नेमा आफूहरूको विमति नभएको चौरजहारीका नगरप्रमुख पुष्प बादीले बताए । ‘कहाँ दरबन्दी खाली छ भन्ने त संघीय सरकारलाई थाहै छ, तर पनि कर्मचारी पठाउने कुरामा लापरबाही गरिन्छ,’ उनले भने, ‘माथि संघीय मन्त्रालयबाट पठाइँदैन, हामी खोज्दै जाँदैनौं, अन्नतः उपलब्ध कर्मचारीमध्येबाट जिम्मेवारी दिने गरिएको छ ।’ मुसीकोट नगरपालिकाका उप–प्रमुख विमल पुनले दरबन्दीअनुसारको कर्मचारी हुनुपर्नेमा जोड दिए । सेवाप्रवाहमा प्रभावकारिता ल्याउन कार्यालय प्रमुख ऐनकानुन’bout दख्खल हुनुपर्ने उनको भनाइ छ । ‘हामीले त योजना बनाउने हो, त्यसको कार्यान्वयन गरेर अपेक्षित परिणाम निकाल्नेमा कर्मचारीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यसकारण दरबन्दीअनुसारको जनशक्ति जरुरी छ ।’

You May Also Like