पुल नबन्दा तुइनकै भर

काठमाडौं । निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ । दुई वर्षअघि लगाएको पक्की पुलको ठेक्काको काम जय बागेश्वरी कन्स्ट्रक्सन बाँकेले अहिलेसम्म सुरु नगर्दा खोलामा तुइनको यात्रा गर्न स्थानीय बाध्य भएका हुन् ।

सडक डिभिजन चौरजहारीले यो ठेक्का दुई वर्षअघि खोलेर निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । हाल छेडागाड नगरपालिका–६ का मानबहादुर थापाले तुइन निर्माण गरेर खोलामा दैनिक रूपमा वारपार गराउने कार्य गरिरहेका छन् । त्यहाँका स्थानीयले खोला तर्नकै लागि तुइनलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर खड्काको गुनासो छ ।

यो पनीः सुर्खेत १ बाट निर्वाचित तिनै जना मन्त्री

वर्षायाममा तुइनमार्फत यहाँका सर्वसाधारणले खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्ती सवारीसाधन चलाएर खोला पार हुने गरेको छ । यता सडक डिभिजन कार्यालय चौरजहारीले भने पुल निर्माणका लागि कार्यालयले ताकेता गरिरहेको जनाइको छ । सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले आफूहरूले निर्माण व्यवसायीसँग ताकेता गरिरहेको जानकारी दिए ।

You May Also Like