‘अपरेसन आवर’ निर्णय तत्काल फिर्ता लिन माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि कर्णाली लगायत दुर्गमका जिल्लाहरुमा हवाई उडान नगर्ने ‘अपरेसन आवर’ निर्णय गरेपछि उक्त निर्णयको सर्वत्र विरोध हुन थालेको छ ।

प्राधिकरणले गरेको यो निर्णय कर्णालीको हितमा भएको भन्दै कर्णाली नागरिकले पनी दुःख व्यक्त गरेका छन् । कर्णाली पर्यटन उद्यमी समाजले प्राधिकरणको निर्णयका कारण नागरिकको नैसर्गिक अधिकारको हनन भएको महशुस भएको जनाएको छ ।

प्राधिकरणका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाउँदै समाजले कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा लगायतका जिल्लामा हवाइ उडान बाहेकको अन्य विकल्प नभएकाले तत्काल प्राधिकरणको निर्णय फिर्ता लिन माग समेत गरिसकेको छ ।

‘कर्णाली राजमार्ग भरपर्दो छैन । बिहानको मौसम नखुल्ने र दिनमा उडान हुन नदिने प्राधिकरणको यस निर्णयका कारण दुर्गममा बसोबास गर्ने आम नागरिकहरुमा आवतजावतमा समस्या, बिरामीलाई समयमा अस्पताल पुऱ्याउन नसक्नु, अत्यावश्यक खाद्यन्न, औषधि लगायतका अन्य सामाग्री ढुवानीमा समस्या र सिगों देशको आर्थिक विकासमा मद्धत पुऱ्याइरहेको कर्णालीको पर्यटन क्षेत्रमा समेत यसका कारण प्रत्यक्ष रुपमा असर परेको छ’ विज्ञप्तिमा भनिएको छ,’जहाज कुर्दा कुर्दै हुम्लामा दुई जनाको ज्यान गईसकेको अवस्था छ । समाज वैज्ञानिक युगमा अघि बढिरहेको बेला कर्णालीबासी भने अझै पनि नाना, खाना, छाना, स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात र खानेपानी जस्ता अत्यावश्यक समस्यासंग गुज्रिरहेको छन् ।’

कर्णाली पर्यटन उद्यमी समाजले यो निर्णय लागू भएसंगै फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई दबाव सृजना, ध्यानाकर्षण र समन्वयका गतिविधिहरू गरिरहेको छ । ‘अपरेसन आवर’ को निर्णय फिर्ता लिइ सुरक्षा निर्देशिका पालना गर्दै अनुकूल मौसममा हवाइ सेवा सञ्चालनका लागि नागरिक उड्ययन प्राधिकरणलाई जोडदार माग गर्दै निर्णय फिर्ता नभए थप सङघर्षका कार्यक्रम गर्ने कर्णाली समाजले घोषणा गरेको छ ।

You May Also Like