जुम्लाका ७ वटा घरमा आगजनी गर्ने व्यक्ति सार्वजनिक

काठमाडौं । जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाको गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो ।

नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने कच्ची गोठसमेत जलाएको प्रहरीले आज भएको पत्रकार भेटघाटमा जानकारी दिएको छ । रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली सेनामा केही समय जागिर खाएर छोडेका थिए ।

प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेको थियो ।

You May Also Like