सरीसल्ला- खच्चा सडक अझै खुलेन

हुम्ला । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा–सरीसल्ला सडक एक सातादेखि अवरुद्ध छ । वर्षाका कारण जिल्लाको सर्केगाड गाउँपालिका– १ जैरको खच्चामा पहिरो गएपछि अवरुद्ध भएको सडक अझै सञ्चालनमा ल्याइएको छैन ।

वर्षाका कारण सडक ५० मिटरमाथिबाट आएको पहिरोले भासिएपछि गत मंगलबारदेखि नै सवारी आवतजावत रोकिएको हो । सडक अवरुद्ध हुँदा एक हप्तादेखि मालवाहक गाडीहरु सडकमै अलपत्र परेका छन् भने स्थानीय बासिन्दाहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

हिल्सा सिमकोट सडक आयोजनाका अनुसार दर्जनौं मालवाहक गाडी र जिप सडकमा थुप्रिएका भए पनि मोटरसाइकल भने आवतजावत गर्ने गरेका छन् । यातायात व्यवसायी र सडक आयोजनाको सहयोगमा खच्चामा गएको पहिरो हटाउन पहल गरिए पनि प्रभावित क्षेत्रमा डोजरले काम नगरेको र अन्यन्त्रबाट ल्याउन पनि नसकिने भएकाले अझै पहिरो हटाउन समय लाग्ने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनीयर वीरेन्द्र चन्दले बताए ।

खच्चामा मात्र नभएर ताँजाकोट, पुईमा लगायत बाजुरा-कालिकोटका विभिन्न ठाउँमा पहिरो गएकाले सडक सुचारु हुन अझै समय लाग्ने हिल्सा सिमकोट सडक आयोजनाका सुपरभाईजर प्रशान्त थापाले बताए ।

हिउँदको समयमा पनि सुख्खा पहिरो जाने खच्चामा वर्षायममा अविरल वर्षा हुँदा पहिरो जाने क्रम तीव्र रहेको छ । पछिल्लो पटक सुर्खेत र नेपालगञ्जबाट सलीसल्लाका लागि आएका ४५ मालवाहक गाडीहरु बालुकुनामै रोकिएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए । सडक खुलाउने प्रयाय गरिएको भए पनि माथिबाट पहिरो खसि रहने भएकाले पहिरोले भासिएको सडक मर्मत गर्न समस्या भएको उनले बताए ।

भारी वर्षाका कारण कर्णालीका साना–ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् । कतै नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलीब्रिज नदीले बगाउने लगायतका समस्याका कारण अहिले कर्णाली करिडोरको कालीकोट हुम्ला खण्डमा विभिन्न सडकहरु अवरुद्ध भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख चन्दले बताए ।

You May Also Like