बाटोमा लत्रेको तार पन्छाउन खोज्दा युवकको ज्यान नै गयो

ललितपुर । बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा मंगलबार बिहान एक जना युवकको मृत्यु भएको छ। मर्निङ वाक जाने क्रममा घर नजिकै लत्रिएको थ्री फेजको बिजुलीको तारबाट करेन्ट लाग्दा ती युवकको ज्यान गुमेको ललितपुर प्रहरी एसएसपी सिद्धिविक्रम शाहले बताएका छन्।

उनका अनुसार गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु स्याङताङ बिहान सधैझैँ मर्निङ वाकका लागि निस्केको तर घर छेउमै बाटोमै लत्रिएको तारमा खुट्टा पर्दा करेन्ट लागेर उनको ज्यान गुमेको हो।

‘उहाँ बिहान ५:३० बजे मर्निङ वाकका लागि निस्किनु भएको रहेछ। सो क्रममा बाटोमा थ्री फेज लाइनको एउटा तार बाटोमा झरिरहेको देखेपछि त्यसलाई हातले समाएर हटाउन खोज्नु भएछ तर त्यो तारमा चाँहि करेट फ्लो भइरहेको भइकोले करेट लागेको रहेछ,’ उनी भन्छन्, ‘उहाँको घटनास्थलमा नै मृत्यु भएको हो।’

उनका अनुसार थ्री फेज लाइनको तार बाटोमा तत्रिएको देखेपछि हटाउन खोज्दा तारमा करेन्ट फ्लो भइरहेकाले करेट लागेर मृत्यु भएको हो।

यसरी बाटोमै तत्रिएको थ्री फेजको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु हुनुमा सम्बन्धित संस्थाको समेत कमजोरी देखिन्छ। ललितपुर प्रहरीका अनुसार भने उक्त तार रातिको हावा हुरी तथा वर्षाका कारण मात्रै लत्रिएको बताएको छ। ‘रातिको हावा हुरी तथा पानीले गर्दा तार बाटोमा लत्रिएको रहेछ, त्यसैले उहाँलाई पनि थाहा नभएर हातले नै समाएर अर्कोतिर राख्ने प्रयास गर्नुभएछ त्यही क्रममा करेन्छ लागेको हो’, शाह भन्छन्, ‘अघिबाटै यो स्थानमा त्यसरी तार बाटोमा लत्रिएको थिएन।’

करेन्ट लागेर युवक ढलेको खबर पाउनासाथ चापागाउँ प्रहरी वृत्तका प्रहरीहरु घटनास्थल पुगेका थिए। करेन्ट लागेका युवकको घटनास्थलमै मृत्यु भएको हो।

You May Also Like