मुगुमा ५ दिन यता बिद्युत अवरुद्ध

मुगु । मुगुको सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँ पाँच दिनदेखि अन्धकारमा छन्। केही दिनअघि गमगाडमा आएको बाढीले इन्टेकबाट नहरतिर करिब एक सय मिटर भाग माटो र बालुवाले पुरिदिएपछि नहरमा पानी बग्न नपाइ विद्युत उत्पादन बन्द भएको हो।

विद्युत सेवा अवरुद्ध भएपछि मंगलबार रातिदेखि स्थानीय अध्याँरोमा बस्न बाध्य छन्। साथै मोबाइल सेवासमेत अवरुद्ध‍ भएको छ।

हाल नहर खुलाउनका लागि काम भइरहेको र जतिसक्दो छिटो विद्युत सुचारु गर्न लागिपरेको विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।
विद्युत सेवा नहुँदा मोबाइल चार्ज गर्न पनि स्थानीयलाई समस्या भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र ओखेडाले बताए।

नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र मल्लका अनुसार विद्युत नहुँदा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषणमा कठिनाइ भएको छ।

मुगुका १० हजार घरधुरीलाई लक्षित गरी २०५२ सालमा गमगाड साना जलविद्युत आयोजनाको काम सुरु गरिए पनि २०६८ सालमा निर्माण सम्पन्न भएको थियो। उक्त आयोजनाबाट सदरमुकाम गमगढीसहित छायाँनाथरारा नगरपालिकाभित्रका ८७ वटा बस्तीका स्थानीय लाभान्वित भएका छन्।

You May Also Like