बाँदरमुढे घटनास्थल नजिकै पुगेर प्रचण्डले भने – ठूलो गल्ती भयो पीडितलाई न्याय दिन्छौँ

चितवन– सशस्त्र द्वन्द्वको समयमा चितवनको माडीस्थित बाँदरमुढेमा भएको घटना सम्झँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताउनु भएको छ ।

घटनापश्चात दोश्रो पटक शनिबार माडी पुगेका प्रचण्डले बाँदरमुढे घटना द्वन्द्वकालको ठूलो गल्ती भएको बताउँदै घटनाबाट पीडित भएकाहरुले न्याय पाउने बताउनुभएको छ । माडीको बसन्तपुर बजारमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उहाँले घटनाका दोषीलाई पार्टीको तर्फबाट उतीबेलै कारबाही गरिएकोसमेत बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले दोषी ठहर गरे जोकोही पनि कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो । अहिले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताउँदै उहाँले छिटै प्रकृया सुरु हुने बताउनुभयो ।

माडीसहितको क्षेत्र समेटिएको चितवनको क्षेत्र नं. ३ को प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रचण्ड चुनावी अभियान अन्तर्गत माडी पुग्नुभएको थियो ।
यसअघि २०६९ साल फागुन १७ गत माडी महोत्सवको उद्घाटन गर्न माडी पुग्नुभएको प्रचण्डले पीडितका लागि ६० लाख रुपैयाँ वरावरको प्याकेज कार्यक्रम घोषणा गर्नुभएको थियो । तर, सो रकम पीडितको हातमा पुग्न सकेको थिएन ।

तत्काल सरकार परिवर्तन भएका कारण राहत रकम वितरण हुन नसकेको बताउँदै उहाँले अब बन्ने सरकारले पीडितका बिषय गम्भीर रुपमा लिने बताउनुभयो । आफ्नो पूर्णकालीन राजनीतिक जीवन माडीबाटै शुरु भएकोले अहिले यही क्षेत्रबाट चुनाव उठेको बताउँदै उहाँले देशमा स्थिर राजनीति र विकासका लागि वाम गठबन्धका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो ।

दिवाकर–तीर्थकुमार भुषाल स्मृति खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्न माडी पुग्नुभएको प्रचण्ड बाँदरमुढे घटनास्थलमै भने पुग्नुभएन । माडीका बासिन्दा निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उहाँले अब बन्ने स्थायी सरकारले यो समस्याको स्थायी रुपमै समाधान गर्ने बताउनुभयो । नेपाललाई कम्युनिष्ट आन्दोलनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने बताउँदै उहाँले समाजवादको मोडल नेपाल बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा सँगै पुग्नुभएका एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताउनुभयो । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सबै माडी पुगेका थिए ।
बिस २०६२ साल जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस बिस्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।

जानकारी: रारा सञ्चार अनलाईनलाई तपाई फेसबुकमा (यहाँ), ट्विटरमा (यहाँ) र युट्युबमा (यहाँ) फ्लो गर्न सक्नुहुनेछ ।

You May Also Like