१९ संस्थाले पाए एसइईको नतिजा उपलब्ध गराउने अनुमति

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।

यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रवार भित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताए । तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने काम भइरहेको र तयारी तीव्र पारिएको बताए ।

उत्तर पुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको उनले बताए । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षरांकन) अनुसार नतिजा प्रकाशन गर्न लागेको छ । पुरानो पाठ्यक्रम अनुसार पढाई हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।

You May Also Like