उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का आज ओमन जाँदै

साउदी । गैरआवासीय नेपाली संघ एनआरएनले ओमनमा आयोजना गर्ने आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र विशिष्ट अतिथिको रूपमा श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी सहभागी हुने भएका छन्। मंगलबार बेलुका उनीहरू ओमन प्रस्थान गर्दैछन्।

जुन २८देखि ३० सम्म हुने सम्मेलनको तयारी पूरा भएको मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन्। सम्मेलनमा ५०० भन्दा बढिको प्रतिनिधित्व रहनुको साथै अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन हुने भएको हो ।

सम्मेलनमा नेपाली राजदूतहरू र गैरआवसीय नेपाली संघ आईसीसीका अध्यक्षसहित, बैंकर, व्यवसायीहरू तथा अन्य पदाधिकारीको सहभागीता रहनेछ। सम्मेलनमा साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमन, कुवेत, इराकलगायतका राष्ट्रिय परिषद्हरूको सहभागीता हुनेछन ।

सम्मेलनको उद्देश्य मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरूको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभावलगायत विषयमा छलफल हुनेछ।

यस्तै सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानीलगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानुनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन विताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव रहनुको साथै वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत् विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ।

साथै गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

You May Also Like