सोरु गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा

मुगु । स्थानीय तह संचालनको ६ वर्षसम्म पनि गाउँपालिका केन्द्र निर्धारण गर्न नसक्दा मुगुको सोरु गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न सकिरहेको छैन ।

उक्त गाउँपालिकाका ५ वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहामा पालिका केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् भने ६ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनुपर्ने अडान राखेका छन् ।

जसकारण जनप्रतिनिधिहरूकै विवादले केन्द्र निर्धारणमा अन्योल उत्पन्न भएको छ । मुगुका चारवटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो कार्यकालमै केन्द्र निर्धारण गरी भौतिक पूर्वाधार निर्माण गरिसकेका छन् भने सोरु गाउँपालिकाको केन्द्र निर्धारण नहुँदा जग्गा खरिद देखि पूर्वाधार बनाउन बाधा परेको छ ।

पालिकाको पहिलो ५ वर्षे कार्यकाल सोरुकोटमा रहेको वन डिपोको जीर्ण भवनमा बित्यो भने गत वर्षदेखि सोरुकोटमै एक गैरसरकारी संस्थाले दुईतले भवन बनाइदिएपछि उक्त भवनमा पालिकाको कार्यालय संचालन हुँदै आएको छ ।

६ वर्षसम्म पनि पालिका केन्द्र निर्धारण नगरी अन्योलमै दिन गुज्रनुमा यहाँका जनप्रतिनिधि नै जिम्मेवार रहेको बताउँछन् सोरुकोट गाउँका स्थानीय धनप्रसाद भट्ट । हरेक वर्षको हिउँदे र बर्खे बजेट गाउँसभामा पालिकाको केन्द्र निर्धारणको लागि जनप्रतिनिधिले कुरा उठान गर्ने र अन्तिममा कुनै टुंगोमा नपुग्ने उनको भनाइ छ ।

अध्यक्ष धर्मबहादुर शाही भने मुगु कर्णाली वारि र पारिको विवादले गर्दा पालिकाको केन्द्र निर्धारण गर्न कठिन भइरहेको बताउँछन् । पालिका केन्द्र निर्धारणका लागि गाउँसभामा छलफल मात्र हुने र वडा अध्यक्ष र वडा सदस्यहरूको विवादले टुंगोमा नपुगिने उनको भनाइ छ । तर स्थानीय तह संचालन भएको ६ वर्षसम्म सोरु गाउँपालिकाको साइनबोर्डदेखि लेटरप्याडमा समेत केन्द्रको नाम जिमा मुगु नै लेख्ने गरिएको छ ।

संघीय सांसद ऐनबहादुर शाही, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री मंगलबहादुर शाही र निवर्तमान प्रदेश कृषिमन्त्री चन्द्रबहादुर शाही सोरु गाउँपालिका निवासी भए पनि आफ्नै पालिकाको केन्द्र निर्धारणमा चासो नदिएको भन्दै उनीहरूमाथि आरोप लाग्ने गरेको छ ।

You May Also Like