शारदा नगरपालिकाको बजेट ६८ करोड ६३ लाख

सल्यान । शारदा नगरपालिका सल्यानले नीति कार्यक्रमसँगसँगै आव २०८०र०८१ को लागि ६८ करोड ६३ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । केही नयाँ र पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नगरसभामार्फत बजेट सार्वजनिक गरिएको हो ।

नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले बजेट सार्वजनिक गरेकी थिइन् । उनका अनुसार कुल बजेट ६८ करोड ६३ लाखमा संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानिकरण अनुदान ११ करोड ५० लाख, सशर्त अनुदान ३२ करोड ७ लाख, समपूरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँटबाट ११ करोड ९ लाख ६७ हजार गरी ५६ करोड ३६ लाख ३७ हजार रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा प्रदेश समानीकरण अनुदान १ करोड ३३ लाख, सशर्त अनुदान ४ करोड ७६ लाख, समपूरक अनुदान १ करोड ४४ लाख, विशेष अनुदान ४० लाख, राजस्व बाँडफाँटबाट २५ लाख ६७ हजार गरी ८ करोड १९ लाख ४३ हजार र आन्तरिक स्रोतबाट २ करोड ६३ लाख, स्थानीय तह राजस्व बाँडफाटबाट ४५ लाख, बैंक मौज्दात ९९ लाख, कुल आम्दानी ६ करोड ६५ रहेको छ ।

बजेटमा नगरका १५ वडामा २५ लाखका दरले वडास्तरीय योजना तथा कार्यक्रमको लागि ३ करोड ७५ लाख, विपद् व्यवस्थापनमा ५० लाख, श्रीनगरस्थित आधुनिक बसपार्क निर्माण तथा मल निर्माणको लागि १ करोड ९० लाख, शिक्षातर्फ १ करोड, स्वास्थ्यतर्फ ५० लाख, विद्युतीकरणमा ५० लाख, नगर प्रहरी व्यवस्थापनमा ४० लाख, सवारी खरिदमा १ करोड, नगरबस सञ्चालनको लागि २० लाख विनियोजन गरेको उनको भनाइ छ ।

नगर प्रमुख प्रकाश भण्डारीले यस आवमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिएको बताए । आगामी दिनमा पालिकाभित्रका कसैले शिक्षा तथा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने उनले जानकारी गराए । उनका अनुसार स्वास्थ्य सेवा अन्तर्गत वडाका सबै स्वास्थ्यसंस्थाको भौतिक पूर्वाधारमा सुधार, स्तरोन्नति, पोषणमा सुधार, निःशुल्क औषधीको सुनिश्चितता गर्ने आकस्मिक सेवाका लागि एम्बुलेन्सको व्यवस्था गरिने छ ।

यस्तै, शिक्षातर्फ बालविकासलाई नमुना बनाउने, विद्यार्थीको पठन संस्कृतिको विकास गर्ने, बालबालिका बस्नको लागि प्रभावकारी कक्षाकोठा, पढाइ मेला सञ्चालन गरिने छ । पालिकाभित्र सञ्चालन गरिएका ठूला योजनालाई बहुबर्षीय रुपमा लैजाने र कृषि, पशु, सूचना प्रविधिलाई मजबुत बनाउँदै लैजाने उनको भनाइ छ ।

You May Also Like