नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जिती पहिलो बलिङ गर्ने निणर्य लिएको हो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्घको खेल निकै महत्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अंक तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाबे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट इन्डिज नेट रनरेटमा जिम्बाबेभन्दा अगाडि छ । दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अंक हात पारेको नेपाल तालिकाको चौथो स्थानमा आसिन छ । नेट रनरेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ । समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाबे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने लगभग निश्चितजस्तै छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्सबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौं स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ ।

त्यसैले शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराउनुको विकल्प छैन । उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएरमात्र पुग्दैन । यसका अतिरिक्त सोमबार हुने समूहगत चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई हराउनु पनि उत्तिकै आवश्यक छ । नेपालले प्रतियोगिताको सुपर सिक्स चरणमा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुवै खेलमा पराजय ब्यहोर्नु पर्ने हुन्छ । हाल नेपालको नेट रनरेट माइनस ० दशमलब ६३८ र नेदरल्यान्ड्सको नेट रनरेट माइनस ० दशमलब १६७ रहेको छ ।

नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । शनिबार हुने खेलमा नेपाललाई पराजित गरेमा नेदरल्यान्ड्स चार अंकसहित सजिलै सुपर सिक्स चरणमा पुग्नेछ । यसको विपरित उक्त खेलमा नेदरल्यान्ड्सलाई हराउन सके नेपालको अंक चार पुग्नेछ । तर, समूहगत चरणमा त्यसपछि पनि नेदरल्यान्ड्सको एक खेल बाँकी रहन्छ । आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई हराएमा नेपालको सुपर सिक्स यात्रा अप्ठ्यारोमा पर्नसक्छ । यस्तो स्थितिमा नेपाल र नेदरल्यान्ड्सको समान चाररचार अंक हुनेछ । त्यसपछि नेट रनरेटका आधारमा सुपर सिक्स चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यसैगरी नेपाल र नेदरल्यान्ड्सबीचको खेल अनिणर्ित अवस्थामा टुंगिएको अवस्थामा पनि दुबै टोलीको अंक तीनरतीन हुनेछ । यस्तो अवस्थामा नेदरल्यान्ड्सलाई नेट रनरेटको फाइदा प्राप्त हुनेछ । त्यसमाथि समूहगत चरणमा नेदरल्यान्डको एक खेल ९वेस्ट इन्डिजविरुद्ध० पनि बाँकी रहनेछ । एकदिवसीय क्रिकेटमा पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच सन् २०१८ को अगस्तमा खेल भएको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो खेल नै नेदरल्यान्ड्ससँग खेलेको थियो ।

त्यतिबेला नेदरल्यान्ड्स भ्रमणमा गएको नेपालले तीन खेलको शृंखलामा सहभागिता जनाएको थियो । शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । बलिङतर्फ तात्कालीन कप्तान पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिएका थिए ।

सोही शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक रनले हराएको थियो । उक्त खेलमा सोमपाल कामीले ६१ र पारस खड्काले ५१ रन बनाएका थिए । बलिङतर्फ सन्दीप लामिछानेले तीन र ललित भण्डारीले दुई विकेट लिएका थिए । शृंखलाको तेस्रो खेल भने अनिर्णित रुपमा सकिएको थियो । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण भने आगामी अक्टोबरनोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।

You May Also Like