काकाकुल वीरेन्द्रनगर

सुर्खेत । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो रु”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोखिन् । विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ ।

बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न दिउँसो ३ बजे पालो आउँछ । सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एक गाग्री पानी भरिन आधा घण्टा लाग्छ । वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।

पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनीषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्छीन् । विद्यालय समयमै पुग्न उनलाई सधैँ कठिन हुन्छ । कारण, खानेपानी समस्या । बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ ।

पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ । धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन् । पालो पाउनै सधैँ सबैलाई मुस्किल पर्छ । मनीषा भन्छिन्, “कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु । हातमुख नधोएरै स्कुल गएको छु ।” गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उनको भनाइ छ । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।

वीरेन्द्रनगरका वडा नं। १ देखि १२ सम्म खानेपानीको समस्या छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताए । उनले भने, “वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकामा पनि खानेपानीको समस्या छ । समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन् ।”

भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ । सङ्घीय सरकारले अघिल्लो वर्ष रु दुई करोड र गत आर्थिक वर्ष रु छ करोड छुटाएको थियो । गत वर्ष प्रदेश सरकारले छुटाएको रु ५० करोड कामै नभई फिर्ता गएको थियो । गर्मी समय सुरु भएसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरू अहिले खानेपानीको चरम अभावमा छन् । बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन् ।

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन । वीरेन्द्रनगर–९ मा धारामा १५–१६ दिनमा एक घण्टामात्र पानी आउने गरेको छ । कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीयवासी विनोद गुरुङले बताए।

गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको छ । वडाले खानेपानीको समस्या समाधान गर्न दुईवटा डिप बोरिङ खनेको थियो । ती बोरिङसमेत सञ्चालनमा आउन सकेका छैनन् । वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीको मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृषि गिरीले बताए । उनले भने, “अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन् । एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदछौँ ।” वीरेन्द्रनगरमा एक सय २० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ । उपभोक्ता भने तालिकाअनुसार पानी नआएको बताउँछन् ।

जनसङ्ख्या वृद्धिले थप समस्या
प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसङ्ख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । मागअनुसार खानेपानी पु¥याउन नसकिएको उहाँले बताउनुभयो । मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ । उनी भन्छन, “छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको सङ्ख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसङ्ख्या बढेको छ ।”

वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट एक सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिएका छन् । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब दुई सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो । संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट एक सय २८ लिटर प्रतिसेकेन्ड पानीमात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो । हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएकामा यस वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो ।

विकल्प खोज्दै भेरी नदीतिर
वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउन विश्व बैङ्क, नेपाल सरकार र नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यही असारसम्म बोलपत्र आह्वान गरिने नगरपालिकाले जनाएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० सम्पन्न भइसकेको छ । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत रु चार अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ ।

आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ । बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसूदन खनालले बताए ।

वि।सं। २०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । तीन दशकपछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजना अघि बढाइएको छ । छ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पानी प्रशोधन केन्द्र लेकबेँसी नगरपालिकाको वन क्षेत्रमा राखिने जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन मस्यौदा गरेको छ । आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिका लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्नेछ ।

आयोजनाको पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ । पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, भण्डारण ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्याङ्की ९ट्रिटमेन्ट प्लान्ट० मा खसालिने छ । करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने भण्डारण ट्याङ्कीमा पानी खसालिने र पाँच सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने बताइएको छ । अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । आयोजनाबाट वीरेन्द्रनगरको पाँच लाख जनसङ्ख्या लाभान्वित हुनेछन् ।

You May Also Like