प्रमको स्वागतमा दिल्लीको सडक

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् ।

प्रधानमन्त्रीको एकल र भारतीय समकक्षी मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरु विमानस्थलसहित हैदराबाद हाउस, बाह्रखम्बा, अशोक रोड लगायतका प्रधानमन्त्रीको सवारीको रुट पर्ने स्थानमा स्वाग्त बोर्डहरु टाँगिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन्। आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

You May Also Like