सरकारले बढायो भाडाका सवारी साधनमा आयकर

काठमाडौं । सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ । सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्ता वा नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएका हुन् ।

अर्थमन्त्री महतले साना ठूला सबै भाडाका सवारी साधनको आयकर बढाएका छन् । कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ ।

यस्तै १३०१ देखि २०० सीसीसम्म ४ हजार ५०० रहेको आयकर अब ६ हजार पुगेको छ । २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढेर ६ हजार ५०० रुपैयाँ पुगेको छ ।

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार पुगेको छ । यस्तै ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार पुगेको छ । यस्तै मिनी बस, मिनी ट्रक र पानी ट्यांकर सवारी दर्ता तथा नवीकरण गर्दा लिने आयकर ६ हजारबाट बढेर ८ हजार पुगेको छ ।


मिनी टिपरको सवारीधनीले तिर्ने आयकर ७ हजारबाट बढेर ९ हजार पुग्दा ट्रक र बसको सवारीधनीको आयकर ८ हजारबाट बढेर १० हजार ५०० रुपैयाँ पुगेको छ । डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेसिनरी उपकरण दर्ता वा नवीकरण गर्दा सवारीधनीले तिर्न आयकर सीमा १२ हजारबाट बढेर १५ हजार ५०० पुगेको छ । तेल ट्यांकर ग्यास बुलेट, टिपरको दर्ता वा नवीकरण गर्दा सवारीधनीले तिर्ने आयकर सीमा १२ हजारबाट बढेर १५ हजार ५०० पुगेको छ ।

यस्तै ट्याक्टरको सवारीधनीले नवीकरण गर्दा तिर्न आयकर २ हजारबाट बढेर २ हजार ५०० पुगेको हो । पावर टिलरको दर्ता तथा नवीकरण गर्दा लाग्ने आयकर १५०० बाट २ हजार पुगेको छ । अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको दर्ता नवीकरण गर्दा लाग्ने आयकर, २ हजारबाट २ हजार ५०० पुगेको हो ।

सरकारले विद्युतीय सवारी साधनको दर्ता वा नवीकरण गर्दा सवारी धनीले तिर्नुपर्ने आयकर सीमा पनि तोकेको छ । ५० किलोवाटसम्मको विद्युतिय सवारी साधनमा ३ हजार आयकर तोकेको सरकारले ५० देखि १२५ किलोवाटसम्म ४ हजार, १२५ देखि २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथि ७ हजार ५०० रुपैयाँ आयकर सीमा तोकेको हो ।

You May Also Like