जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प छैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण आज  सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए । उनले भने -‘सामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो । हाम्रा अगाडी चुनौतीपूर्ण अवसर छ । तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प हामीसँग छैन । ‘
यसबीचमा जनतालाई एउटा नयाँ आन्दोलन र  अभियानको  सुरुवात भएको अनुभूत हुन थालेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।  उनले भने -‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु ।  जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ । हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु ।’

You May Also Like