मन्त्री र सदस्य सचिवको द्वन्द्वले रोकियो कोशी प्रदेशको खेलकुद गतिविधि

विराटनगर । जेठ १ गतेदेखि ७ गरेसम्म मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना हुनेभएपछि हतार हतार गरेर ओखलढुंगामा रंगशाला तयार गरियो ।

प्रतियोगितामा सहभागिताका लागि १४ वटै जिल्लाले खेलाडी छनोटको प्रक्रिया अघि बढाए । तर जेठ १२ गतेसम्मम प्रतियोगिता हुने नहुने अन्योल छ । जिल्ला तहको तयारी पनि रोकिएको छ ।

कोशी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेबीचको विवादका कारण प्रतियोगिता अन्योलमा परेको हो ।

‘हामीले सबै तयारी पुरा गरिसकेका थियौं, तर प्रदेश सरकारले खेलकुद विकास बोर्डको खाता रोक्का गरेपछि प्रतियोगिता रोकियो,’ जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविण श्रेष्ठले भने,’ अब प्रतियोगिता हुने नहुने टुङ्गो छैन् ।’

जेठ १३-१५ सम्म झापामा कोशी प्रदेश स्तरीय ‘मिस्टर कञ्चनजंगा’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गर्ने तयारी थियो । मन्त्रालय र बोर्डबीच विवादका कारण बजेट रोकिएपछि आयोजकले यो प्रतियोगितालाई जेठ २५-२६ गतेका लागि सारेको छ ।

‘प्रतियोगिता आयोजनाका लागि हाम्रो १० लाख जति खर्च भइसक्यो, तर खेलकुद बोर्डको खाता रोक्का भएपछि प्रतियोगिताको मिति नै सार्नुपर्‍यो,’ आयोजक संस्था वडी ग्यारेज फिटनेशका सञ्चालक राम दाहाल भन्छन्,’ बजेट नदिएपछि मन्त्रीलाई भेट्यौं, बिनियोजन भइसकेको बजेट दिने आश्वासन पाएका छौं ।’ सबै तयारी पुरा भएपनि प्रदेशले दिने १५ लाख बजेट रोकिएपछि प्रतियोगिताको मिति सारिएको उनले बताए ।

You May Also Like