हुम्ला कर्णालीमा एक युवक बेपत्ता

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताए । अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नका लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदीबीचबाट बेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताए ।
 
रैसेडी कर्णाली नदीमा बिहीबार बेपत्ता भएका बुढाको खोजीकार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानीयवासी, कामदार सबैले खोजीकार्य गरिरहेको बताइएको छ ।
 
बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन् । बुढाको श्रीमती, दुई छोरा र एक छोरीका छन् । बेपत्ता बुढा अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।

You May Also Like