पञ्जाबलाई दिल्लीको झट्का, प्लेअफ यात्रा सङ्कटमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबार राति धर्मशालामा खेलिएको महत्वपूर्ण खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि १५ रनको रोमाञ्जक जित हासिल गरेको छ ।

यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको दिल्लीलाई यो जितले खासै फाइदा नभए पनि पञ्जाबलाई भने अप्ठ्यारोमा पारेको छ । महत्वपूर्ण खेलमा दिल्लीसँग पराजित भएपछि पञ्जाबको प्लेअफ चरणको यात्रा संकटमा परेको छ ।

हालसम्म १३ खेल खेलेको पञ्जाब १२ अंकसहित तालिकाको आठौं स्थानमा छ । पञ्जाबले ६ जित र ७ हारको नतिजा निकालेको छ । पछिल्लो जितसँगै दिल्ली भने सनराइजर्स हैदराबाटलाई पछि पारेर तालिकाको नवौं स्थानमा उक्लिएको छ । दिल्लीले १३ खेलबाट १० अंक जोडेको छ ।

प्राविधिक रुपमा भने पञ्जाबको प्लेअफ चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छैन । दिल्लीसँग पराजित भएपछि अब पञ्जाबले राजस्थानसँगको अन्तिम खेल ठूलोअन्तरले जित्नुपर्ने हुन्छ । त्यसपछि पनि प्लेअफ चरणमा पुग्न पञ्जाबले अन्य टोलीको नतिजामा भार पर्नुपर्ने हुन्छ ।

जारी आईपीएलमा लिग चरणको समाप्तिपछि ४ टोली प्लेअफ चरणमा पुग्ने प्रावधान छ । हालसम्म गुजरात टाइटन्समात्र प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । १३ खेल खेलेको गुजरातले १८ अंक बटुलेको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पञ्जाबले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको दिल्लीका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिली रोसुले अविजित ८२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रिलीले केवल ३७ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काए । ३३ वर्षीय बायाँ हाते ब्याट्सम्यान रिली म्यान अफ दि म्याच घोषित भए ।

त्यसअघि दिल्लीका कप्तान डेविड वार्नर र पृथ्वी सले ओपनिङ विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । वार्नरले ४६ रन बनाए । उनले ३१ बलको सामना गरी २ छक्का र ५ चौका पनि प्रहार गरेका थिए ।

पृथ्वी भने अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५४ रन थपे । उनले ३८ बलको सामना गरी १ छक्का र ७ चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान फिल साल्टले पनि टोलीका लागि अविजित २६ रनको योगदान गरे ।

पञ्जाबका बलर साम कुर्रनले २ विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको पञ्जाबका लागि लियाम लिभिङ्स्टोनले ९४ रनको योगदान गरे पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । यसका अतिरिक्त अथर्व तैदेले पनि अर्धशतक बनाएका थिए ।

इङ्ल्यान्डका २९ वर्षीय दायाँ हाते ब्याट्सम्यान लिभिङस्टोनले केवल ४८ बलको सामना गरी ९ छक्का र ५ चौका प्रहार गरेका थिए । अथर्वले भने रिटायर्ड हर्ट भएर पेभेलियन फर्किनुअघि ५५ रन बनाएका थिए । उनले ४२ बलको सामना गरी २ छक्का र ५ चौका प्रहार गरे ।

त्यसअघि पञ्जाबका लागि ओपनर ब्याट्सम्यान प्रभसिमरन सिंहले २२ रन बनाएका थिए । दिल्लीका बलर इशान्त शर्मा र एनरिच नोर्जेले २÷२ विकेट लिए । खलिल अहमद र अक्षर पटेलले पनि १-१ विकेट हात पारे ।

You May Also Like