३४ प्रतिशतले घट्यो लगानी

काठमाडौं । चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ।

विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९२ अर्बको मात्र आएको छ। यसरी १० महिनामा कुल १ खर्व १ अर्व अर्थात् ३४।४७ प्रतिशतले लगानी प्रविवद्धतामा कमी आएको विभागको भनाइ छ।

लगानी प्रतिबद्धता परिमाणमा ठूलो गिरावट आए पनि परियोजना संख्या भने गत वर्षकै हाराहारीमा देखिएको छ । गत आवको १० महिनामा २६४ परियोजना स्वीकृत भएका थिए भने यस वर्ष २४८ परियोजना स्वीकृत भएका छन्। विभागका अनुसार वैशाख महिनामा मात्र स्वदेशी तथा विदेशी लगानीका ३१ परियोजना स्वीकृत भएका छन् भने ती परियोजनाका लागि ११ अर्व ४५ करोड लगानी प्रतिबद्धता रहेको छ।

यसवाट २ हजार १५५ को संख्यामा रोजगारी सिर्जना हुने जनाइएको छ । नयाँ दर्ता भएका उद्योगमध्ये वैशाखसम्म १३० साना, ६२ मझौला र ५६ ठूला उद्योग रहेका छन्। यसमध्ये वैशाखमा २६ साना, दुई मझौला र तीन ठूला उद्योग रहेका छन्।

मुलुकमा पछिल्लो समय ठूला र मध्यमको तुलनामा साना लगानीका व्यवसाय दर्ता गर्ने क्रम बढ्दो अवस्थामा छ । विभागमा हालसम्म स्वदेशी र विदेशी गरी कुल ९ हजार ११ परियोजनाका लागि २८ खर्व १६ अर्बका औद्योगिक तथा व्यावसायिक परियोजना दर्ता भएका छन्। यी उद्योग व्यवसायबाट ६ लाख ७५ हजार ५२७ रोजगारी सिर्जना हुने जनाइएको छ ।

You May Also Like