को बन्ला कर्नाटकको मुख्यमन्त्री?

एजेन्सी । दक्षिण भारतीय राज्य कर्नाटकमा मतदाताले भारतीय राष्ट्रिय कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्। पूर्ण बहुमतका साथ अब कांग्रेस राज्यमा सरकार बनाउँदै छ।

नतिजा सबैको अगाडि छ, तर एउटा प्रश्न अझै पनि सबैको मनमा चलिरहेको छ– मुख्यमन्त्रीको कुर्सीमा को बस्ला?

मुख्यमन्त्रीको दौडमा तीन नाममाथि चर्चा भइरहेको छ – पूर्वमुख्यमन्त्री सिद्धारमैया, कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमार र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे।

जितपछि कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमार र पूर्वमुख्यमन्त्री सिद्धारमैया मिडियाका अगाडि आउँदा आफूलाई रोक्न सकेनन् र भावुक भए। मुख्यमन्त्रीको दाबेदारीलाई लिएर दुवै नेताका समर्थकबीच कर्नाटकमा ‘पोष्टर वार’ सुरु भइसकेको छ।

सिद्धारमैया एक पटक कर्नाटकको मुख्यमन्त्री बनिसकेका छन्। यस्तै, डीके शिवकुमारको  इच्छा लामो समयदेखि अधुरो छ, जसलाई उनी यसपटक पूरा गर्न चाहन्छन्।

***

डीके शिवकुमारलाई सन् २०२० मा कांग्रेसले कर्नाटकको प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। यो यस्तो समय थियो, जतिबेला कांग्रेसको अवस्था कर्नाटकमा राम्रो थिएन, सिद्धारमैयाको क्याबिनेटमा रहेका कैयौं मन्त्रीले समेत चुनाव हारेका थिए।

डीके शिवकुमार।

डीके शिवकुमार कांग्रेसका पुराना बफादार नेता हुन्। उनी राज्यमा वोक्कालिगा समुदायका सबैभन्दा ठूला नेता मानिन्छन्। सन् १९८९ मा विधानसभा चुनाव जितेपछि उनले कहिल्यै कांग्रेसबाहेक अरु पार्टीतिर फर्केर हेरेनन्।

उनले आठौँ पटक कनकपुरा विधानसभा सिटमा जित दर्ता गरेका छन्।

उनलाई सन् २०१९ मा मनि लाउण्डरिङ र ट्याक्स चोरीको आरोपमा करिब दुई महिना दिल्लीको तिहाड जेलमा बिताउनु परेको थियो।

वरिष्ठ पत्रकार एमके भास्कार राव डीके शिवकुमार मुख्यमन्त्री बन्ने सम्भावना ६०/४० को स्थितिमा रहेको बताउँछन्। उनी भन्छन्, ‘यो ६० प्रतिशत समर्थन उनलाई पार्टीको उच्च नेतृत्वको तर्फबाट हो। कांग्रेस नेतृत्वमा पार्टी अध्यक्ष खड्गे, राहुल गान्धी र सोनिया गान्धी उनलाई मन पराउँछन् र उनको समर्थनमा पनि देखिएका छन्।’

‘उनले कांग्रेसको अप्ठ्यारो समयमा आम कार्यकर्तादेखि उच्च नेतृत्वसम्म आत्मविश्वास भर्ने काम गरेका थिए,’ उनी थप्छन्।

उनी कांग्रेस उच्च नेतृत्वसँग नजिक रहेको वरिष्ठ पत्रकार हेमन्त अत्री पनि बताउँछन्। उनी भन्छन्,’राजस्थानमा चुनाव प्रदेश अध्यक्ष सचिन पाइलटको नेतृत्वमा लडिएको थियो तर सरकार बनाउँदा मुख्यमन्त्रीको कुर्सी अशोक गलहोतलाई दिइयो। कर्नाटकमा पनि यस्तै हुनसक्छ।’

***

कर्नाटकमा कांग्रेसका ठूला नेता सिद्धारमैयालाई फेरि पनि मुख्यमन्त्री पदको बलिया दाबेदार मानिएको छ।

उनी सन् १९८३ मा पहिलो पटक कर्नाटक विधानसभामा चुनिएका थिए। सन् १९९४ मा जनता दल सरकारमा हुँदा उनी कर्नाटकका उपमुख्यमन्त्री बने। एचडी देवगौडासँग विवाद भएपछि उनले जनता दल सेक्युलर (जेडीएस)को साथ छाडे र सन् २००८ मा कांग्रेस प्रवेश गरे।

सिद्धारमैया।

उनी सन् २०१३ देखि २०१८ सम्म राज्यको मुख्यमन्त्री बनेका थिए। अहिलेसम्म १२ चुनाव लडेका छन्। जसमा ९ पटक जित हात पारेका छन्। मुख्यमन्त्री हुँदा गरिबका लागि चलाइएको उनका कैयौँ  योजनाको प्रशंसासमेत भएको थियो।

उनी लिंगायत र हिन्दु मतदाताबीच डीके शिवकुमारभन्दा कम लोकप्रिय मानिन्छन्।

मुख्यमन्त्रीमा सिद्धारमैयाको दाबेदारी शिवकुमारको तुलनामा कमजोर रहेको बताउँछन् वरिष्ठ पत्रकार एमके भास्कर। उनका अनुसार पछिल्लो ५ वर्षमा जति मेहनत शिवकुमारले गरेका छन् त्यसको फल उनलाई मिल्ने उनको अनुमान छ।

कर्नाटकमा दुई नेताबीच ‘कोल्ड वार’ रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘दुवैबीच कोल्ड वार पहिलेदेखि नै चलिरहेको छ र यो आगामी दिनमा पनि चल्ने छ। सिद्धारमैयासँग पाँच वर्ष मुख्यमन्त्री बनेको अनुभव छ। म सिद्धारमैयालाई ३५ वर्षदेखि चिन्छु। उनी शिवकुमारको क्याबिनेटमा उप–मुख्यमन्त्री बन्ने छैनन्।’

‘सिद्धारमैया शान्त बस्ने छैनन्। उनी शिवकुमारविरुद्ध केही न केही गर्न सक्छन्,’ उनी थप्छन्।

उता, वरिष्ठ पत्रकार हेमन्त अत्री भने सिद्धारमैयालाई मुख्यमन्त्रीको प्रमुख दाबेदार मान्छन्। उनी भन्छन्,’सिद्धारमैया पहिले पनि मुख्यमन्त्री बनिसकेका छन् र उनको कांग्रेस नतृत्वसँग राजनीतिक कनेक्सन राम्रो छ।’

दुबै जनालाई आधा–आधा कार्यकाल (साढे दुई/साढे दुई वर्ष) मुख्यमन्त्री बनाउने नीति कांग्रेसले लिनसक्ने उनको अनुमान छ। यस्तो अवस्थामा सिद्धारमैयालाई पहिला अवसर मिल्न सक्ने उनको भनाइ छ।

***

यी दुई नेताका बीचमा अर्को नाम छ, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे। चुनावअघि उनलाई कैयौँ पटक सोधिएको थियो– कांग्रेसले चुनाव जितेपछि तपाईं मुख्यमन्त्री बन्नुहुन्छ?

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे।

अप्रिलमा कर्नाटकको कोलारमा भएको जनसभामा उनले आफू मुख्यमन्त्री नबन्ने स्पष्ट पारेका थिए। राजनीतिक विश्लेषकका अनुसार उनलाई मुख्यमन्त्री बन्न नपाएको कुरा सधैं खट्किरहन्छ। उनी कर्नाटकको मुख्यमन्त्री बन्न तीन पटक चुकेको राजनीतिक विश्लेषक बताउँछन्।

सन् १९९९ मा कांग्रेस उच्च नेतृत्वले एसएम कृष्णालाई मुख्यमन्त्री बनाएको थियो। दोस्रो पटक जेडीएसका अध्यक्ष एचडी देवेगौडाले कांग्रेस– जेडीएसको साझा सरकारको नेतृत्व गरेका थिए। यस्तै, २०१३ मा सिद्धारमैयाले विधायकलाई आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री बनेका थिए।

विश्लेषक डी. उमापतिका अनुसार खड्गे मुख्यमन्त्री बन्न चाहन्छन्। तर अब कांग्रेसको अध्यक्ष भइसकेकोपछि उनी मुख्यमन्त्री पदभन्दा माथि उठिसकेको उनको भनाइ छ। ‘उनी अब तल झर्न चाहँदैनन्। उनको आत्मसम्मान यसको अनुमति दिनेछैन,’ उनको भनाइ छ।

–बिबिसीबाट

You May Also Like