इन्टर मिलानले सहज बनायो च्याम्पियन्स लिगको फाइनल यात्रा

काठमाडौं । इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । इन्टर मिलानले बुधबार राति खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा आफ्नै सहरको चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २—० गोलले हरायो ।

अब आगामी जेठ ३ गते हुने सेमिफाइनलको दोस्रो लेग खेलमा इन्टर मिलान २ गोलको स्ष्ट अग्रतासहित मैदानमा ओर्लने छ । सान सिरोमा भएको ‘मिलान डर्बी’ मा सुरुदेखि नै इन्टर मिलानले एसी मिलानलाई दबाबमा राखेको थियो ।

इन्टर मिलानले खेल सुरु भएको ११ मिनेटभित्रै दुबै गोल गरेको थियो । ८० हजार दर्शकले खचाखच भरिएको रंगशालामा खेलिएको उक्त खेलको आठौं मिनेटमै इन्टर मिलानका लागि एडिन डेकोले पहिलो गोल गरेका थिए । बोस्निया एन्ड हर्जगोभिनाका ३७ वर्षीय अनुभवी स्ट्राइकर डेकोले गोल गरेपछि एसी मिलानका हजारौं दर्शक स्तब्धः बनेका थिए ।

निर्धारित समयको ११औं मिनेटमै इन्टर मिलानका हेनरिख मख्तरयनले अर्को गोल थपेका थिए । आर्मेनियाका ३४ वर्षीय मिडफिल्डर हेनरिखले फेड्रिको डिमार्कोको उत्कृष्ट पासमा उक्त गोल गरेका हुन् ।

खेल अवधिभर इन्टर मिलानको तुलनामा एसी मिलानका खेलाडीले बढी समय बल आफ्नो खुट्टामा नचाएका थिए । तर, ५७ प्रतिशत समय बललाई आफ्नो नियन्त्रणमा राखे पनि एसी मिलानका खेलाडीले गोलको अवसर भने सृजना गर्न सकेनन् ।

सेमिफाइनलको दोस्रो लेग खेलपछि इन्टर मिलान र एसी मिलानबीचको विजेताले स्पेनिस क्लब रियल म्याड्रिड वा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग फाइनलमा भिडन्त गर्नेछ । इन्टर मिलानले हालसम्म ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने २ पटक उपविजेता बनेको छ ।

इन्टर मिलानले पछिल्लो पटक सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । एसी मिलानले भने हालसम्म ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । एसी मिलानले पछिल्लो पटक सन् २००७ मा च्याम्पियन्स लिग जितेको थियो ।

यसअघि मंगलबार राति खेलिएको सेमिफाइनलको पहिलो खेल खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १—१ गोलको बराबरीमा रोकेको थियो । म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको दोस्रो लेग खेल आगामी जेठ ४ गते सिटीको मैदानमा खेलिने छ ।

You May Also Like