क्यान्टोनमेन्टको फाइल खोलेर चोखो प्रमाणित गर्न लिङदेनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन गर्दै आइतबार लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन्।

सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने उनले बताए। लिङदेनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटाला काण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरु पक्राउ परेका छन्। एकपछि अर्को उच्चपदस्थ मानिसहरुको नामहरु आइराखेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानबिनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडि बढेको छ, विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन।’

यदि पुष्पकमल दाहालले सुनियतका साथ,सुविचारका साथ यो कदम अगाडि बढाउनुभएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहने उनको भनाइ थियो।

उनले थपे, ‘भ्रष्टाचारका सबै फाइल खोल्नुभयो भने प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ। क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के होरु फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो। तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइदैन यो कुरालाई।’

You May Also Like