काठमाडौं उपत्यकाभरी साना ठूला गरेर २००० कि।मी सडक सञ्जाल छ । काठमाडौंको औसत जनसङ्ख्या ४० लाख हुँदै गर्दा देशभरी ४० लाख सवारी साधन दर्ता भएको यातायात व्यवस्थाको पछिल्लो तथ्याङ्कले बताउँछ । जसमध्ये ३८ प्रतिशत सवारीसाधनहरू काठमाडौंभित्र सञ्चालनमा छन् । उक्त १६ लाख सवारी मध्ये ८० प्रतिशत (अन्दाजी १२ लाख ८० हजार) दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा छन् । अझ अस्थायी रूपमा काठमाडौँ भित्रिने निजी तथा सार्वजनिक सवारीको हिसाब हुने भए काठमाडौंको सवारी तथ्याङ्क बढ्छ ।
समग्रमा सवारीसाधन वृद्धि र सडक सञ्जालको वृद्धि अनुपात नमिल्नु, काठमाडौंको ट्राफिक जामको प्रमुख समस्या रहेको देखिन्छ । तर वर्तमान अवस्थामा काठमाडौंमा सडक सञ्जाल विस्तार प्रक्रिया अलि झन्झटिलो र खर्चिलो हुन्छ । यो भन्दैमा काठमाडौंको ट्राफिक जामको समस्या समाधान नहुने भन्ने चाहिँ हैन । यसै सन्दर्भमा उक्त समस्याको वर्तमान अवस्था, समस्याका प्रमुख कारणहरू, अल्पकालीन र दीर्घकालीन समाधानहरूको चर्चा गरौँ ।
वर्तमान अवस्था
काठमाडौं महानगरको मात्र हैन, देशभरिकै सार्वजनिक सवारीसाधन प्रयोग गर्न सर्वसाधारणलाई सधैँ कष्टकर नै छ । अझै काठमाडौंको सार्वजनिक सवारी प्रयोग गर्नलाई ठूलो चुनौती सामना गर्नुपर्छ । यात्रु चढाउने र ओराल्ने ठाउँमा ठूलो भिडभाडबिच आफू चढ्ने सवारी पहिचान गरी, गन्तव्यमा पुगेर उत्रिन मानिसहरूलाई हम्मे हम्मे पर्छ ।
असहज, अव्यवस्थित र असुरक्षा हिजो आज सार्वजनिक यातायातको पहिचान नै भइसकेको छ। कुनै एक मात्र सार्वजनिक सवारीको कुरा नगरी समग्र काठमाडौंको यातायात संयन्त्रको कुरा गर्दा निकै कहालीलाग्दो छ । २-४ कि.मि बाटो तय गर्न कहिले काहीँ १-२ घण्टा नै लाग्छ । एउटा कर्मचारी कार्यालय समयमा आफ्नो कार्यालय पुग्न र फर्किन घन्टौँ लाग्छ । दैनिक रूपमा प्रत्येक व्यक्तिको उपलब्धिमूलक समय ट्राफिक जाममा नै खर्च हुँदा समग्र राष्ट्रलाई कतिसम्मको घाटा हुन्छ हामी यसलाई हिसाब नै गर्दैनौ ।
वर्तमान ट्राफिक अवस्थाका प्रमुख कारणहरू ।
काठमाडौं सुन्दर सहर हो । अव्यवस्थित सहरीकरणले यसलाई समस्या नै समस्याको सहर बनाइसकेको छ । सहरको भित्री भागमा ठुलो मात्रामा सवारी आवत जावत हुने संघ–संस्था जस्तै त्रिचन्द्र क्याम्पस, सिभिल मल, काठमाडौँ मल आदिहरूमा मानिसहरूको एकै पटक आवत जावत हुँदा केही समयको लागि ट्राफिक डेन्सिटी बढी ट्राफिक जाम हुन्छ ।
बिना योजनाको भू-उपयोगिता र जोनिंगले गर्दा काठमाडौँ कङ्क्रिटको जङ्गलमा परिणत भइसकेको छ । भू-माफिया र जग्गा दलालहरूले व्यावसायिक लाभको लागि साँघुरो बाटो बनाएर घडेरी बिक्री गर्नाले उक्त टोलमा बाटो साँघुरो भइराखेको छ, जुन ट्राफिक जामको अर्को प्रमुख कारण हो । सार्वजनिक सवारी सेवा अस्तव्यस्त र अप्रभावकारी भएकोले निजी सवारीसाधनको प्रयोग बढ्दो छ । अत्यधिक निजी सवारी प्रयोग पनि ट्राफिक जामको अर्को प्रमुख समस्या हो ।
ट्राफिक बत्तीको उचित व्यवस्थापन नहुनु, अव्यवस्थित पार्किङ, फुटपाथ बजार, सवारी चालकहरूले ट्राफिक नियमको पालना नगर्नु, ढल र बाटोको मर्मत कार्य समयमा नहुनु, आकासे पुल र अन्डर पासजस्ता भौतिक पूर्वाधारको निर्माण हुन नसक्नु, भौतिक उपस्थितिबिना कार्यालयको सेवा प्रवाह गर्न नसक्नु, विभिन्न मेला र भी.आइ.पी सवारी आदि कारणहरूले निम्त्याउने ट्राफिक जामले प्रायः हामी सबैलाई नकारात्मक प्रभाव पारिरहेको छ ।
उक्त समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय सडक विभाग, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, विभिन्न बस व्यवसाय समिति, सङ्घीय तथा स्थानीय सरकार जस्ता राष्ट्रका विभिन्न निकायहरू सक्रिय छन् ।
नेपाल ट्रान्सपोर्ट पोलिसी ९२०५८०, डी.ओ.आर इस्ट्राटेजी १९९५, डी.ओ.आर ट्वान्टी एयर मास्टर प्लान, विभिन्न सेक्टोरल प्लान, पन्ध्रौँ पञ्च वर्षीय योजना, नीति तथा कार्यक्रम जस्ता दर्जनौँ नीतिहरू र कानुनी प्रावधानहरु बनि कर्यान्वयनमा पनि छन् । यद्यपि काठमाडौँको ट्राफिक समस्याले नागरिकलाई उक्त समस्यामा काम गर्न र कम गर्न कुनै पनि संयन्त्र नभएको महसुस हुन्छ ।
सम्भावित मध्यकालीन समाधानका उपायहरू
ट्राफिक जाम र सार्वजनिक यातायातसँग सम्बन्धित समस्याहरू रातारात समाधान हुने विषय भने पक्कै पनि होइन तर क्षणिक र दिर्घकालिन समाधान नभएका पनि होइनन् । समग्र महानगरको ट्राफिक जामलाई न्यूनीकरण गरी दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ त रु
१। चुस्त यातायात व्यवस्थापन
ट्राफिक चिन्हको प्रयोग, रोड मार्किङ, ट्राफिक नियम पालन, सम्बन्धित सरोकारवालालाई उपलब्धिमूलक तालिम, ट्राफिक बत्तीको अधिकतम प्रयोग गरी राम्रोसँग यातायात व्यवस्थापन गर्न सके केही हदसम्म ट्राफिक जाम कम हुन्छ । वान वे, टन कन्ट्रोल, अनि नो पार्किङको नियमलाई सवारी चालकहरू संयम भई राम्रोसँग पालना गर्नुपर्छ ।
काठमाडौँको विभिन्न ठाउँदेखि भित्री भागमा आवत जावत गर्ने बस, माइक्रो बस, ट्याम्पो, रिक्सा आदी सवारीसाधनहरू वैज्ञानिक रुट व्यवस्थापन गरी सम्बन्धित निकायले सञ्चालनमा ल्याउँदा अझ बढी प्रभावकारी हुन्छ ।
२। सार्वजनिक सवारीलाई प्रोत्साहन
सहज, सफा, आरामदायी, भरपर्दो, सस्तो र ठुला विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्रोत्साहन गरी धेरैभन्दा धेरै प्रयोगमा ल्याउँदा सार्वजनिक सवारी प्रयोग गर्ने जनसंख्या अझै बढ्न सक्ने देखिन्छ । एउटै बसले ५० देखि ७० ओटा दुइपांग्रे सवारीसाधनलाई विस्थापन गर्न सक्छ ।
चीनको बेइजिङ सहरमाजस्तै, निजी सवारी खरिद, प्रयोग अनि पार्किङ सुल्क महँगो गर्दा निजी सवारीसाधन केही हदसम्म घट्नेछन् जसले समग्रमा ट्राफिक डेन्सिटी घटाई ट्राफिक जाम कम गराउन मद्दत गर्छ ।
३। कम्प्रेस्ड वर्क सेडुलिंग र अल्टरनेटिभ वोर्किंग टायमिंग
कुनै पनि कार्यालयका कर्मचारीहरू १ वा २ दिन आफ्नो घरमा बसी काम गर्ने, अनि उक्त कामको विवरण र नतिजा पेस गर्न वा कार्यान्वयन गर्न मात्र भौतिक रुपमा कार्यालय गई काम गर्ने तरिकालाई कम्प्रेस्ड वर्क भनिन्छ । यसो गर्नाले पेट्रोलियम पदार्थको खपत पनि कम हुन्छ ।
अल्टरनेटिभ वोर्किंग टायमिंग भनेको १० देखि छ बजे मात्र कार्यालय समय नबनाई ठुलो सङ्ख्यामा सवारी प्रयोग गर्ने संस्थाहरूको कार्यालय समय तालिका हेरफेर गर्नु हो । यसो गर्नाले धेरै हदसम्म ट्राफिक जाम कम हुन जान्छ ।
४। राइड सेयरिंग र फुटपाथ पसल व्यवस्थापन
यौटै संस्थाका विभिन्न कर्मचारीहरू, यौटै विद्यालयका कर्मचारी तथा विद्यार्थीहरू, आफ्नो आफ्नो सवारी प्रयोग नगरी रुट र समय मिलेको खण्डमा राइड सेयरिंग गर्न सकिन्छ । फुटपाथ पसलहरू उचित समय र ठाउँ व्यवस्थापन गरी प्रयोगमा ल्याउने गर्नाले सवारी चाप र इन्धन खपत घटाउन सकिन्छ ।
दीर्घकालीन समाधान
अस्तव्यस्त भइसकेको सहरी यातायात व्यवस्थालाई दीर्घकालीन समाधान दिन अलि खर्चिलो, झन्झटिलो र केही बढी समय लाग्न सक्छ । निश्चित सहरी विकासको लागि छुट्टै मास्टर प्लान तयार पारिनु पर्छ । केही समयअघि सहरी विकाससँग सम्बन्धित विज्ञ टोलीको अध्ययनले काठमाडौँका २०० ओटा भन्दा बढी रुट पहिचान गरी सबै ठाउँलाई पायक पर्नेगरी मेट्रो ट्रेन सञ्चालन गर्न सकिने निष्कर्ष निकालेका थिए ।
स्रोतसाधन र बजेट व्यवस्थापन गर्न सके, मोनो रेल, र्यापिड बस ट्रान्जिट र टनेल टेक्नोलोजी प्रयोग गरी मेट्रो रेलको विकास गर्न हामी पछि पर्न हुन्न । पैदल यात्रुलाई सहज हुने गरी आकासे पुल, फ्लाई ओभर, अन्डर पास, छुट्टै साइकल लेन, बहुतले पार्किङ, नो भेहिकल जोन आदी निर्माण र विकास गरिनुपर्छ ।
सहरी केन्द्र जस्तै सुनधारा, न्यूरोड, पुतलीसडकमा अवस्थित सेवाग्राही धेरै भएका सार्वजनिक र निजी कार्यालय जस्तै त्रिचन्द्र क्याम्पस, वीर अस्पताल, सिंहदरबारको सेवा प्रवाह आदीलाई सहज पहुँच र सवारी चाप थेग्न सक्ने ठाउँ पहिचान गरी स्थानान्तरण गर्नु पर्छ ।
समयमै बाहिरी रिंगरोड र वाकी भएको भित्री रिंगरोड बिस्तारको काम सकी, काठमाडौँ भित्रिने र बाहिरिने नाकाहरूमा सडक विस्तार गरी समग्र काठमाडौँको ट्राफिक समस्या न्यूनीकरण गर्दै केही समय पछि दीर्घकालीन समाधान गर्न सकिन्छ ।
(सुबेदी विपद् व्यवस्थापन तथा न्यूनीकरण अध्येयता हुन् ।)