नवनियुक्त मन्त्री आचार्यले लिए शपथ, महेन्द्ररायको मन्त्रालय परिवर्तन

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कांग्रेसबाट आज शपथ लिएका मन्त्री आचार्य शेखर-गगन समूहका हुन् ।

अब जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त छ । सुरेन्द्रराज आचार्य कपिलवस्तुमा लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा बसेर काम गरेका अनुभवी नेता हुन् । जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् ।

२०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई उनी तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए ।

दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य ०७४ मा कपिलवस्तु क्षेत्र नं २ बाट पराजित भएका थिए । ०७९ मंसिर ४ को निर्वाचनमा सत्तारुढ ५ दलको गठबन्धनको समर्थनमा उम्मेदार बनेका आचार्यले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई ३१७ मतले हराएर विजयी भएका थिए ।

You May Also Like