रकम उठाएर ठेकेदार बेपत्ता, भवन अलपत्र

दैलेख । महाबु गाउँपालिका –३, बासीस्थित भगवती आधारभूत विद्यालयको चारकोठे भवन एक वर्षदेखि अलपत्र छ । ठेकेदारले आधा काम गरी १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष ०७८÷७९ मा चारकोठे भवन निर्माणका लागि पुस महिनामा सम्झौता भएको थियो ।

विद्यालयकै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको लापरबाहीका कारण विद्यालय भवन अलपत्र परेको स्थानीयले बताएका छन्। विद्यालय व्यवस्थापन समितिले स्थानीय ठेकेदारलाई भवन निर्माणको जिम्मा दिएको थियो । सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख भीमप्रसाद पोखरेलले गत आर्थिक वर्षमा चारकोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन भएको र त्यसैअनुसार विद्यालयलाई १६ लाख पेस्की दिएको जानकारी दिए ।

उनले विद्यालय भवन निर्माणका लागि पेस्की दिएको भए पनि विद्यालयले पेस्की फर्स्योट नगरी भवन अलपत्र पारेको बताए । उनले विद्यालयलाई पेस्की रकम फर्स्योट र विद्यालयको भवन निर्माण गर्न ताकेता गरिएको बताए । भगवती आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णुसिंह मल्लले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीका कारण विद्यालय भवन अलपत्र परेको दाबी गरे ।

उनले अभिभावकलाई जानकारी नदिएर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ठेकेदारलाई काम गर्न लगाएको र ठेकेदारले पेस्कीबापत दिएको १६ लाख रुपियाँ लिएर काम अलपत्र पारेको आरोप लगाए । उनका अनुसार १६ लाख बराबरको काम पनि भएको छैन। डीपीसी गरेर पिल्लर उठाएर सेटिङको सामान जोडेर अलपत्र पारिएको छ ।

भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक भण्डारीले ठेकेदारलाई विश्वास गरेर १६ लाख भुक्तानी गरिएको बताए । उनले स्थानीयलाई कामको जिम्मा दिएको बताए । काम नगरेपछि ताकेता गरेको र बाँकी फ्रिज भएको रकम मागका लागि सामाजिक विकास मन्त्रालयसँग माग गर्ने योजनामा रहेको बताए ।

You May Also Like