सरकारमा जान रास्वपा सकारात्मक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक देखिएको छ । रास्वपा केन्द्रीय समिति बैठकले सरकारका विषयमा कुनै निर्णय नगरी शुक्रबारसम्मको भाका राखेर पर्ख र हेरको नीति लिएको हो ।

गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारका विषयमा अझ राम्रोसँग बुझौं । समय लिएर विश्लेषण गरेर निर्णयमा पुगौं । सरकारमा विषयमा हतारमा निर्णय गर्नुहुँदैन भन्ने भयो’ कार्कीले भने, ‘साझा न्यूनतम कार्यक्रममा हाम्रा एजेण्डाहरु हटाएको छ । हामीलाई दिने भनिएको मन्त्रालयमा समेत हस्तक्षेप भएका छन् । ती सबै हुने सुनिश्चित भए सरकार जान सकिन्छ ।’

गठबन्धनका नेताहरु साझा न्यूनतम कार्यक्रम कसरी पुर्नलेखन गर्न तयार हुनुहुन्छ त्यसैमा धेरै विषय निर्भर हुने कार्कीले बताए ।

सरकार पाँचै वर्ष जाने सुनिश्चित हुनुपर्ने रास्वपाको अडान छ । रास्वपाले हतारिएर सरकारमा जानेभन्दा गठबन्धनको आन्तरिक कुराहरु के के छन् भन्ने विषयलाई राम्रोगरी बुझ्ने नीति लिएको छ । सत्तामा जाने विषयलाई मात्रै प्रधान नबनाउन नेताहरुले समेत सुझाव दिएका छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेसहित केही शीर्ष नेताहरुले परिस्थितिको विश्लेषण गरेका थिए । आफूलाई लागेको विषयमा अरू केन्द्रीय सदस्यले एक एकगरी सुझाव राखेका छन् । सबै केन्द्रीय सदस्यलाई धारणा राख्न दिने भनिएपनि अन्तिममा केही नेताहरुले मात्रै विश्लेषण गरेर सरकारका विषयमा निर्णय गर्न शुक्रबार बैठक सारिएको छ ।

You May Also Like