वाणिज्य बैंकको नाफाः १४ बैंकको बढ्दा ७ को घट्यो, कुनको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरुको नाफा झण्डै १२ प्रतिशतले बढेको छ । देशभर सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुको नाफा औषतमा ११.६७ प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको सुरुवातदेखिनै बजारमा लगानी योग्य रकम तरलताको अभाव भएता पनि बैंकहरुको नाफामा वृद्धि भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म २१ वटा बैंकले ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधि बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ कमाएका थिए । यो गत आवको तुलनामा ११.६७ प्रतिशतले बढी हो ।

१४ बैंकको नाफा बढ्यो

१४ बैंकमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकले चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६२ प्रतिशतले बढी हो ।

धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले ४ अर्ब ३५ करोड ८२ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । यो गत आबको सोही अवधिको तुलनामा १६.९६ प्रतिशतले धेरै हो । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको नाफा तेस्रो त्रैमासमा ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ । यो नाफा गत आवको तुलनामा ११.३८ प्रतिशतले बढी हो । एनआईसी बैंकपछि सरकारी समित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको पनि नाफामावृद्धि भएको छ । यस बैंकको ३६.६८ प्रतिशतले नाफा वृद्धि भई खुद नाफा ३ अर्ब ५७ करोड ६७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ३ अर्ब  ४ करोड ६१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको तुलनामा २२.८६ प्रतिशतले धेरै हो । यस्तै, एभरेष्ट बैंकको नाफा ६२.६३ प्रतिशत, स्टयान्डर्ड चार्टड बैंकको ६०.२४ प्रतिशत, प्रभु बैंकको ११.५० प्रतिशत, लक्ष्मी बैंकको ४७.३१ प्रतिशत, नेपाल एसबिआई बैंकको ३८.७१ प्रतिशत, हिमालयन बैंकको २४.९५ प्रतिशत, सानिमा बैंकको ७.४७ प्रतिशतले बढेको छ । यस्तै एनएमबी र कुमारी बैंकको नाफा भने झिनो अंकले बढेको छ । विवरण अनुसार एनएमबी बैंकको ०.६४ प्रतिशत र कुमारी बैंकको ०.९७ प्रतिशतले नाफा बढेको छ । 

७ बैंकको नाफा घट्यो
७ बैंकमध्ये सबैभन्दा कम नाफा कमाउने बैंकमा कृषि विकास बैंक छ । बैंकको नाफामा ४५.३६ प्रतिशतले गिरावट आई १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँमा सीमित रहेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ कमाएको थियो । 

यस्तै, सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशत, सिटिजन्स बैंकको नाफा २२.२४ प्रतिशत, नेपाल बैंकको १८.७२ प्रतिशत, माछापुच्छ्रे बैंकको नाफा १२.८७ प्रतिशत, प्राइम बैंकको नाफा ९.३४ प्रतिशतर र सनराइज बैंकको नाफा ८.३३ प्रतिशतले घटेको छ ।

You May Also Like