अभियन्ता शेर्पाको ८१ वर्षको उमेरमा निधन

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा पदयात्रा निर्माणका अभियन्ता पासाङ शेर्पाको ८१ वर्षको उमेरमा निधन भएको छ । माप्यदुधकोशी गाउँपालिका ४ काँकुमा वि.सं १९९९ मा जन्मिनुभएका शेर्पाको आइतवार खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शेर्पाले २०४१ सालदेखि आफ्नो जीवन नै खुम्बु क्षेत्रको पर्यटन मार्ग निर्माणमा समर्पण गर्नुभएको थियो । उहाँले सगरमाथा क्षेत्रको जीर्ण पदमार्ग निर्माणका लागि विदेशी पर्यटकबाट चन्दा सङ्कलन गरी बाटो मर्मत गर्दै आउनुभएको थियो । उहाँले ठाउँ–ठाउँमा गरी १० किलोमिटरभन्दा बढी पदमार्ग चन्दा सङ्कलनकै माध्यमबाट निर्माण गर्नुभएको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।

शेर्पाको आज सोमवार खुम्बुका जनप्रतिनिधि, नाम्चे गुम्बा, नाम्चे युवा समूह, नेपाल प्रहरीसहितको सहभागितामा नाम्चे नजिकै बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

You May Also Like