सुरुका दिनहरु
चौपारी वा चोकमा पुरुषहरुको जमघटमा कहिलेकाँही सहभागी हुन्थेँ । जहाँ समसामयिक राजनीतिक सामाजिक वा उद्योग व्यवसायका कुरा निस्किने र छलफल हुने गरेको पाउँथे । जबकी महिलाहरुको जमघट कुने साखिको घरको पेटी वा आँगनमा हुने र छलफलको विषय मेरो रुचीभन्दा बाहिरको पाउँथे । जहाँ हिन्दी धाराबाहिक, पर्व र समय अनुसारको पहिरन, गहना, सजावट, लामो समय रहे भान्साका, सन्तान र परिवारका कुरा । केही साथीहरु यो परिवेशबाट बाहिर आउन चाहेको आभास हुन्थ्यो ।
हामीलाई पनि राजनीतिक, व्यवसायिक या उद्योग सम्बन्धी छलफल गर्न वातावरण सृजना गर्न रहर लाग्न थाल्यो । शुरुको सवाल के गर्ने रु छलफलका क्रममा हाम्रो घर वरिपरि टोलमा घडेरीका लागि टुक्राइएका बाँझा जग्गा प्रशस्त देखिने हुँदा मलाई त्यसैमा केही उपयुक्त कृषिजन्य उत्पादन गर्ने सोँच आउने गर्दथ्यो तर एक्लो सोँचले साहस आएको थिएन । मौका पाउँदा चेलीहरुको माँझमा यहि कुरा प्रस्ताव गरेँ कि हामीले बेसार, मूला, मास, करकलो लगाएर मस्यौरा, गुन्द्रुक, बेसार जस्ता बस्तु उत्पादन गरी बिक्रि गर्न सक्यौ भने सबैले काम गर्ने अवसर पाउँछौ । प्रस्ताव स्वीकार्य त भयो तर त्यसको लागि र बजार कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गर्ने क्रममा नै समय लाग्यो ।
मालाले दिएको फूलको सन्देश
एकदिन एउटा राजनीतिक कार्यक्रममा सहभागि हुने क्रममा अतिथिलाई रहरलाग्दा ठूला थुंगायुक्त सुन्दर सयपत्री फूलको मालाले स्वागत सम्मान गरियो । तिहारमा मात्र हाम्रोमा देखिने र त्यसैलाई सिजन मानिने सयपत्री फूल बेमौसममा पनि त्यति आकर्षक देख्दा मन लोभिनु स्वाभाविक थियो । सुन्तला रंगका फूलको मालाले गर्दा अतिथिका अनुहार धपक्कै बलेका थिए ।
कार्र्यक्रम समापनपछि प्रमुख अतिथिसँग विशेष कुरा गरें । फर्किने बेला माला फुकाल्ने क्रममा उहाँको सेतो सर्टमा मालाकै घेराको पहेँलो दाग देखिँदा म मौन रहन सकिन र कुरा राख्दै सर सर्टमा त के भएछ रु उहाँले त्यो देख्दा आश्चर्य र चिन्ता पनि व्यक्त गर्नुभयो । अर्को कार्यक्रममा जानुछ बिहान घरबाट लगाएर आउँदा त यो सर्ट सफा नै थियो के भएछ रु भन्नु भयो र अनुमान लगायौ कि यो पक्कै पनि मालाको दाग हो भनी । र अन्य अतिथिहरुसँग बुझ्दा सबैको यहि समस्या देखियो र प्रमाणित भयो मालाको दाग नै हो भन्ने । तर मालाबाट कसरी हुनसक्छ भन्ने गहिराईमा सोच्न लागिएन । केही समय पछि तिहारको रमझममा घर आँगनका सयपत्री ढकमक्क फुले, आँगनका फूल टिपेर बगैँचा खाली हुने डरले घर सजावट र भाइटीकाको लागि चाहिने सयपत्रीको माला बजारबाट किनेर ल्याउने निधो गरी त्यहि अनुसार गर्यौ तर मालाले कपडामा दाग गरेको फेरि पनि देखियो तर कसरी यस्तो हुन पुग्यो भनी खोजतलासी तर्फ लाग्दा भारतबाट आयातित यी सयपत्री फूलका मालामा यो किसिमको समस्या हुने गरेको पाइयो । जसमा लामो समयसम्म मालालाई ताजा राख्न प्रयोग गरिने रसायनले गर्दा भएको बुझियो । निकै दुःख पनि लाग्यो । त्यसपछि हाम्रो छलफलले नयाँ मोड लियो र सयपत्री फूलको व्यावसायिक खेती गर्ने सहमति भयो ।
उत्साह र प्रेरणा मिलेपछि
भेट हुँदा केही गरौँ न भनी झकझकाई राख्ने चेलीहरुलाई प्रस्ताव गर्दा केहिले प्रतिकृया जनाउनु भएन, केही तयार हुनु भयो । एकदिन प्रदेश ५ की माननीय भूमि,व्यवस्था तथा कृषि मन्त्री आरति पौडेल ज्यूसँगको भेटमा हाम्रो खेती सम्बन्धी कुरा राख्दा निकै खुशी हुनुभयो । हाम्रो प्रदेशमा यसरी महिला समूहबाट व्यावसायिक सयपत्री पूmल खेती गरिएको जानकारीमा छैन भनी यस्तो सृजनात्मक सोँच सह्रानीय छ भनी हौसला दिनु भयो । तुरुन्त यहि तिहारमा नै तपाईहरुको पुष्प उत्पादनबाट तिहार मनाउने गरी लाग्नुस् भनी प्रेरणा दिनुभयो । यो २०७५ असार अन्तिमतिरको कुरा हो । कुरा गर्ने, छलफल गर्ने तर टुंगोमा नपुग्ने प्रवृत्तिले ग्रस्त हामी माननीय कृषि मन्त्रीज्यूको कुराले तरंगित भयौँ । अब पनि हामी कार्यान्वयन तर्फ नलागे हाम्रो उत्साह नैराष्यतामा परिणत हुने र साथीबाट विश्वास समेत हराउन सक्छ । जसले अन्य चेलीहरुलाई पनि नकारात्मक प्रभाव पर्छ भनी हामी गम्भीरतापूर्वक कोही समूह बनाउनका लागि लागी पर्यौ भने कोहि पुष्प कुषियोग्य जग्गाको खोजीमा लाग्यौ ।
आँटले दिएको छाँट
पुष्प खेतीको लागि उपयुक्त कस्तो माटो र जमीन हुनुपर्छ भन्ने हामीमा ज्ञान पटक्कै थिएन । हाम्रो बसोबासको नगर तिलोत्तमा नगरको कृषि शाखाबाट पर्याप्त सुझाब र सल्लाह पायौ । त्यहि अनुरुप जग्गा खोज्न निकै गाह्रो भयो । हाम्रो व्यवसायिक सामुहिक पुष्प कृषि महिला समूहबाट गरिने कुरालाई तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले निकै गर्व अनुभूति हुने गरी व्याख्या गर्नुभयो । जसलेगर्दा हाम्रो मनोबल थप बृद्धि भयो । नगर प्रमुख बासुदेब घिमिरेज्यूले जमीन व्यवस्थापनका लागि निकै सहयोग गर्नुभयो । नगरपालिकाको स्वामित्वमा रहेको केही जग्गा आफैँ गएर अवलोकन गरी प्राविधिक रुपमा योग्य रहे नरहेको कुरा कृषि शाखाका प्राविधिकसँग छलफल गर्ने । विकल्पमा अन्य जग्गापनि प्रस्ताव गर्ने जस्ता सह्रानीय कदमले हामी निकै उत्साहित भयौँ । असार महिना बित्यो, पुष्प कृषियोग्य जग्गा नपाएर हाम्रो चिन्ता बढ्न थाल्यो तर जग्गा पाइहाल्यौ भने फुलको बिऊ छर्ने बेला टरेको समयमा बिरुवा कहाँबाट ल्याउने भन्ने पिरलो पनि सँगसँगै थियो । तिलोत्तमा, बुटवल, भैरहवाका केही नर्सरीमा बुझ्ने क्रममा मालायोग्य फूलको खेतीका लागि धेरै मात्रामा बिरुवा चाहिने हुँदा त्यो तत्काललाई आफुसँग नभएको भनी प्रतिक्रिया आयो । योग्य जमीन र बिरुवाको व्यवस्थापन नै हाम्रो पहिलो चुनौती बन्न पुग्यो ।
जसका सहयोगले फूल फुलेका छन्
भनिन्छ मनबाट चाहेको कुरा अविचलित रुपमा लागि पर्ने हो भने सफल अवश्य भइन्छ । हामीले त्यो व्यवहारमै महशुस गर्यौ । जग्गा खोजीकै क्रममा तिलोत्तमा नगरपालिका वडा नं। ७ का अध्यक्ष आदरणीय दुर्गा पाण्डेज्यू र वहाँका मित्र तिलोत्तमा ५ निवासी आदरणीय व्यक्तित्व लक्ष्मण ज्ञवालीज्यू, जो वित्तीय, शैक्षिक, चिकित्सा सम्बन्धी संस्थाको कुशल व्यवस्थापकको रुपमा परिचित हुनुहुन्छ र उहाँले आफुलाई परिचय दिँदा कानूनको विद्यार्थी भनीरहँदा म कानूनविद् भनी चिन्दछु । उहाँहरुसँग भेट भयो र प्रसंगबस पुष्प कृषिबारे कुरा निस्कियो साथै हामीले उपयुक्त जमीन नभेटेको दुःख बिसाएँ, कस्तो संयोग जुरेछ भने उहाँहरुको जग्गा बाँझो रहेछ र तत्काल कुनै योजना पनि रहेनछ । मेरो कुरा मनन गर्दै आफ्नै समुदायका चेलीहरुले शुरु गर्न लागेको रचनात्मक सोँच सहितको फरक किसिमको कृषि बारे जसले सुन्दापनि प्रफुल्लित हुने गर्थे उहाँहरु पनि अछुतो रहनु भएन र आफ्नो जग्गा हामीलाई पुष्पकृषिको लागि उपयोग गर्न सफलताको शुभकामना सहित अनुमति दिई सामाजिक अभियन्ताको परिचय दिनुभयो ।
हामी जग्गा हेर्न गयौँ । २४ कट्ठाको मिलेको प्लट चारै तर्फ काँडेतारले घेरिएको जग्गाको उत्तर र पश्चिम तर्फ सडक र जग्गाको पूर्वतर्फ खोला थियो भने पश्चिमतर्फ ठूलो नहर । आहा ‘ हामी त खुशीले गद्गद् भयौँ । सिँचाई, सडक र संरक्षणयुक्त जग्गा पाएपछि हामी माटो परीक्षण तर्फ लाग्यौं । पुष्प कृषिका लागि पूर्णतः अनभिज्ञ हामी “गर्दै सिकौला” भनी सकारात्मक भयौँ । हामीले बस्ने देखि १२ किलोमिटरको दूरीमा थियो उक्त जग्गा तर त्यो केही पर्वाह नगरी जसरीपनि खेती गर्ने तर्फ हाम्रो दृढता रह्यो । श्रावण महिनाको पहिलो हप्ता यसरी नै बित्यो । पुष्प प्राविधिकसँग बुझ्दा यो वर्ष तिहार कार्तिकको अन्तिम साता परेको हुनाले श्रावणको अन्तिम सप्ताहमा बिरुवा रोप्दा तिहारको लागि तयार हुने सल्लाह पायौँ ।
जमीन व्यवस्थापनपछि विरुवाको सँगै प्राङ्गारिक मल व्यवस्थापन हाम्रो लागि उस्तै कठिन थियो । यहि क्रममा तिलोत्तमा १ मा अवस्थित बुटवल नर्सरीका सञ्चालक मित्र सरलाजी र नर्सरीप्रति रुची राख्ने मित्र रचनाजीसँग संयुक्त रुपमा बिरुवा वारे कुरा राख्दा चितवनका सफल पुष्प उत्पादक दाजु प्रकाश पन्तज्यू बारे जानकारी र सम्पर्क नम्बर दिनुभयो । हामी चितवनको उहाँको नर्सरी र विभिन्न किसिमका पुष्प खेती अवलोकन बारे जिज्ञासा राख्दा सहर्ष अनुमतिसँगै आफ्नो समय पनि दिनु भयो । जसले व्यवसायिक पुष्प खेतीबारे निकै सरलभावले बुझाउने र हाम्रो कमदको सराहना पनि गर्नुभयो त्यो हाम्रो लागि थप बलियो आधार बन्यो । बिरुवा सार्नको लागि खेतमा मल राखी माटो ठीक पार्नु विरुवा व्यवस्थापन मेरो जिम्मेवारी भयो भनी आश्वासन साथ हामी खुशी र मन हलुका गराई बिदा भयौ, तर बर्षायाममा पुरानो मल पाउन र खेत जोताउन बर्षाले गर्दा निकै कठिन हुने रहेछ भन्ने हामीले काम शुरु गरेपछि मात्र अनुभूति गर्यौ । हाम्रो कार्य अघि बढ्दै जाँदा नयाँ काम हुनाले आम मानीस जसलाई थाहा भयो सबैको चासो बढ्दै गयो । त्यति नै हाम्रो हरेक गतिविधि सबैको उत्सुकताको विषय बनेको थियो । लगातारको अतिबृष्टीले हामी चिन्तित भयौ । श्रावणको पहिलो सप्ताह पनि जान लाग्यो तर सातबर्ष देखिको त्यो बाँझो जमीन ९ठूलो ठूलो घाँस उम्रेको० जोताउने, रोडाभेटर लगाउने, ड्याङ् बनाउने जस्ता आवश्यक काम गर्न मौषमले पनि चुनौती थप्यो । तीन चार दिन बर्षाको थमौतीलाई अवसर मानी जमीन जोतायौ । खेतभन्दा निकै पर प्राङ्गारिक मल पायौँ । जसको ढुवानीमा खर्च र मलमा डबल रकम तिर्नु पर्दापनि हामी सहर्ष त्यता लाग्यौँ । जमीन तीन चार पटक जोताउनु पर्यौ, माटो सुकेपछि मात्र रोडाबेटर लगाउने हुँदा पुरा एक हप्ता त्यसैमा लाग्यो । आखिर २०७५ साल भाद्र ७ गते साँझ काठमाडौबाट बिरुवा आयो र भाद्र ८ गते साँझ बिरुवा सार्ने काम शुरु भयो । यहि बीचमा चितवनको अर्को एकजना पुष्प कृषकसँग सम्पर्क भएको थियो, त्यहाँबाट पनि बिरुवा मगाएर सार्यौ । तीन दिनमा हाम्रो २२ कट्ठा जमीन सयपत्रीका साना बिरुवाले सजियो । अघिका सारा दुःख कष्ट बिर्सियौ र बिरुवाको स्याहार तर्फ लाग्यौ । हाम्रा शुभेच्छुकहरुलाई यो खुशी बाड्दै उहाँहरुको सल्लाह, सुझाब, शुभकामना नै हाम्रो हौसलाको मूल आधार बन्यो । तिलोत्तमा नगर उपप्रमुख आदरणीय जागेश्वर देवी चौधरीज्यूको घर हाम्रो खेत तर्फ हुँदा घर अफिस गर्दा समय अनुकूल भएसम्म जहिले पनि खेतमा आएर अवलोकन गरीी हामीलाई प्रेरणा दिने काम निरन्तर भई रह्यो । नगर प्रमुखज्यूले पनि भेट हुँदा या अन्य कामले फोनको संबादमा पुष्पलाई पहिलो प्राथमिकता दिएर त्यो बारे जानकारी लिएर मात्र अन्य विषयमा तर्फ लाग्ने हुँदा हामी सदा उत्साहित रह्यौ । बुटवल उपमहानगरपालिका प्रमुख, उपप्रमुख तथा छिमेकी पालिकाहरुका जनप्रतिनिधि लगायत उद्योगी, व्यापारी र समाजका विभिन्न पक्षका शुभचिन्तकहरुले हाम्रो कार्यको प्रशंसा गरेको सुन्न पाउँदा निकै हर्षित हुन्थ्यौ ।
शंखेकीरासँग संघर्ष
घर आँगनमा सजिलै फक्रिएको सयपत्री व्यवसायिक रुपमा खेती गर्दा त्यतिकै कठीन भएको महशुस भयो । जस्तो बर्षा याममा निस्किने शंखे किरा पनि सयपत्रीका विरुवा संरक्षणका लागि विशेष चुनौती दिएरै आक्रमण गर्न लाग्दा बिहान उज्यालो नहुँदै खेतमा पुगी शंखे किरा टिप्ने र साँझ पर्दा फेरि राती १० बजेसम्म खेतमा रही त्यो चुनौती स्वीकार गरी शंखे कीरालाई पराजित गर्न सफल भयौँ । आवश्यक परामर्श युट्युब र तिलोत्तमाका कृषि प्राविधिकबाट लिदै अगाडि बढ्यौ । अतिवृष्टिले गर्दा केही विरुवा वयस्क हुन नपाउँदै नष्ट भए । जागेका मध्येपनि लामो समय पानीमा डुबिरहँदा राम्ररी विकास हुन नसक्दा छिमेकी किसानले हामीलाई थप मेहेनत नगर्न सुझाव पनि नदिएका हैनन् तर हामी आफ्नो अठोटबाट विचलित भएनौ । विस्तारै विरुवाको विकासक्रम अगाडि बढ्यो आखिर हाम्रो मेहेनत सफल भएको अनुभूति गराउँदै प्रत्येक डालीमा राम्रा कोपिला देखिन लागे र दिन दुईगुना रात चौगुनाको हिसावले बढ्दै गए र फक्रेर फूलमा परिणत हुँदाको हाम्रो हर्षलाई शब्दमा वर्णन गर्न सक्दिन ।
गुणस्तरीय फूल उत्पादन देखेर छिमेकीहरु पनि दंग पर्नु स्वाभाविक थियो । सात आठ बर्षदेखि खेतीबिहिन रहेको जमीन ढकमक्क फुल फुल्दा त्यहाँका बासिन्दा र छिमेकीको गर्वको विषय बनेको चर्चा हामीले सुन्न पायौँ । जसको परिणामस्वरुप त्यो चोकलाई फुलबारी चोक भनी आज पनि परिचित छ ।
सयपत्रीले दिएको सयौं खुसी
टेलिभिजन र चलचित्रमा मात्र देखिएको पुष्प खेती हाम्रो मेहेनतले त्यो दृश्य सामने पाउँदा खुशीले गद्गद् भयौँ । गरे हुँदो रहेछ भन्ने कुरा सन्देश मात्र होइन हामीले व्यवहारमा उतार्यौ र चेतना फैलायौभन्दा अतिसयुक्ति नहोला । पुष्प उत्पादनपछि बिक्रिका लागि केही व्यापारीले थोक खरिदको प्रस्ताव गर्नुभयो तर भारतबाट आयातित मालाको दरमा माग भएकोले ठूलो लगानी र परिश्रमका अगाडि व्यापारीको दर न्यून लाग्यो । यसर्थ हामी आफैँले माला तयार गरी बिक्रि गर्ने निधो गर्यौ । नौलो विषय भएकोले निकै प्रचार भएको थियो । सामाजिक सञ्जालले गर्दा तिलोत्तमा नगरवासीसँग प्रत्यक्ष सम्पर्कबाट नै माला अर्डर हुन लागे र हामीले माग बमोजिम माला उपलव्ध गरायौँ । यसरी अगाडि बढ्दै जाने क्रममा अहिले हाम्रो तेस्रो बाली उत्पादन हुँदैछ । यो अभियानमा हामीलाई सल्लाह सुझाव दिएर र विशेष गरी माला किनेर लगायत आ आफ्नो तरिकाले हाम्रो होस्टेमा हैँसे मिलाएका महानुभावप्रति कृतज्ञता ज्ञापन गर्दछौँ । तिलोत्तमा नगरपालिका निवासी कृषि क्षेत्रमै समर्पित आदरणीय दाजु सी.पी. शर्मा (आष्ट्रिच फार्म) र शशीधर पौडेलज्यू (गाई फार्म)प्रति विशेष आभारी छौँ ।
शुरुदेखि हरेक पाइलामा साथ र सहयोगी रुपी खम्बा सावित हुनुहुने सामाजिक व्यक्तित्व बलबहादुर आचार्यज्यू को योगदान अविष्मरणीय छ । आज तिलोत्तमा लगायत सैनामैना, देवदह, नेपालगञ्ज गरी एक दर्जनभन्दा बढि सामूहिक र एकल गरी सयपत्री पुष्पको व्यवसायिक खेती गर्ने चेलीहरुको साहसिक कदम नै हाम्रो अभियानले पूर्ण सफलता हासिल गरेको सावित हुन पुगेको छ । पाँच वर्षभित्रमा प्रदेश ५ लाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष प्राप्तिको लागि यतिले मात्र सम्भव छैन । चेलीहरुको थप सहभागिता र स्थानीय सरकारबाट विशेषतः पुष्प कृषि लक्षित थप योजना र विभिन्न किसिमको सहयोगरुपी हौसलाको आवश्यकता अपरिहार्य छ ।
तिलोत्तमा सहकदम कृषक समूह
तिलोत्तमा –४,रुपन्देही