र्‍यापिड टेस्टमा तीन पटक कोरोना पोजेटिभ देखिएकी युवतीको आइसोलेसनमा राख्न नपाउँदै मृत्यु

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोना भाइरसविरूद्धको एन्टिबडी देखिएकी २३ वर्षीया युवतीको वीरगन्जमा मृत्यु भएको छ।उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए।

मृतक युवतीको तीन पटक र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गर्न स्वाब हेटौंडा प्रयोगशाला पठाइएको छ।’अहिले नै केही भन्ने स्थिति छैन। पिसिआरको रिपोर्ट आएपछि थाहा हुन्छ,’ डाक्टर उपाध्यायले भने। मृतक युवती केही महिनादेखि ब्लड क्यान्सरका बिरामी थिइन्। उनी  वैशाख ४ गते चितवनको भरतपुर अस्पतालमा भर्ना भएर ९ गते डिस्चार्ज्ड भएकी थिइन्।

युवतीलाई एक-दुई दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि परिवारले वीरगन्जकै केही अस्पताल लगेका थिए।  सुरूमा तराई हस्पिटल लगिएको र त्यहाँ दुई पटक र्‍यापिड टेस्ट गर्दा पनि नतिजा पोजेटिभ आयो। त्यसपछि नारायणी उपक्षेत्रीय अस्पतालबाट डाक्टर निरा पाठकको टोली गएर अर्को र्‍यापिड टेस्ट गर्दा पनि पोजेटिभ देखियो। उनलाई त्यसपछि नारायणी अस्पताल लगिएको थियो

अरू अस्पतालबाट नारायणी अस्पताल ल्याएको र बिरामीलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको डा. उपाध्यायले बताए।श्वासप्रश्वासमा समस्या देखापर्दा कोरोनासँग मिल्ने लक्षण भएको भन्दै अस्पतालले ‍र्‍यापिड टेस्ट गरेको थियो। अहिले युवतीको शव अस्पतालमै राखिएको छ। उनको र्‍यापिड टेस्टको नतिजा पोजेटिभ आएपछि अस्पतालले परिवारलाई क्वारेन्टाइनमा बस्न भनेको छ।

You May Also Like