प्रदेश ६ को राजधानी : सुर्खेत निर्विकल्प, जुम्लाको पनि दाबी

काठमाडौँ: प्रदेश नम्बर ६ मा माओवादी केन्द्र र एमालेको वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । प्रतिनिधिसभातर्फ सुर्खेतका दुई क्षेत्र र प्रदेशसभातर्फ चारवटै क्षेत्रमा विजयी भएका वाम गठबन्धनका उम्मेदवारले प्रदेश ६ को राजधानी सुर्खेत निर्विकल्प भएको पनि बताएका छन् । प्रदेशसभा गठन भइसकेपछि बस्ने पहिलो बैठकले प्रदेशको राजधानी तोक्न सक्ने भएपनि प्रदेश ६ का धेरैजसो नेता सुर्खेतलाई राजधानी बनाउन तयार छन् ।

प्रदेश नम्बर ६ का सबैजसो जिल्लामा जोडिएको सडक सञ्जाल र हवाई यात्राका हिसाबले पनि सुर्खेत उत्कृष्ट छ । हिमाली र पहाडी जिल्लाका लागि पनि क्षेत्रीय सदरमुकाम समेत रहेको सुर्खेत मुख्य व्यापारिक र प्रशासनिक केन्द्र पनि हो ।

देउती बज्यै, बुलबुले ताल र दोश्रो लुम्बिनीका रुपमा रहेको काँक्रेविहारको पर्यटकीय गन्तव्यले सुर्खेतलाई अझ विशेष बनाएका छन् ।शिक्षाका हिसाबले मध्यपश्चिम विश्वविद्यालय र स्वास्थ्यका हिसाबले मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमै भएकाले पनि सुर्खेतलाई निर्विकल्प राजधानीका रुपमा हेरिएको हो ।

इतिहास : बलिदानले बनेको प्रदेश

प्रदेशको सीमांकन हुँदा मुख्य तीन ठूला दलका नेतालाई लागेको थिएन कि सुर्खेत त्यति महत्वपूर्ण अनि भौगोलिक र एकताका हिसाबले एउटा सिंगै प्रदेशको नेतृत्व गर्न सक्छ भनेर ।

तर जब प्रदेशको सीमांकनमा सुर्खेत लगायत ६ नम्बर प्रदेश अर्थात मध्यपश्चिमलाई नै सुदूरपश्चिममा गाभेर ७ नम्बर प्रदेश बनाइयो । तब भने सुर्खेतमा बस्ने मध्यमपश्चिमबासीलाई आफू हेपिएको अनि भौगोलिक विशेषता र एकतालाई भाँडेर टु्क्र्याइएको भान भयो ।

वर्षौंदेखि गाउँ, ठाउँ, रहन सहनदेखि पानी पँधेरो जस्तो भइसकेको मध्यपश्चिम अनि सुर्खेतलाई अखण्ड राख्न जुम्ला, हुम्ला कालिकोटदेखिका सबै मध्यपश्चिमबासीले सुर्खेतमा आन्दोलन चर्काए ।

सुरुमा त ठूला तीन दल एमाले, माओवादी केन्द्र र कांग्रेसका स्थानीय र केन्द्रका नेतालाई पनि प्रदेश ६ लागि भएको आन्दोलन, आन्दोलन नभई आक्रोश मात्रै भएको लागेको थियो ।

अवस्था यस्तोसम्म सिर्जना भयो कि आन्दोलन र प्रदेश ६ का ’boutमा कसैले विमती राख्यो भने उसको घरमा आगो सल्किन्थ्यो । एक हप्तासम्म चलेको आन्दोलनमा ३ जनाको ज्यान गयो । दर्जनौ बढी घाइते भए । त्यतिबेला सुर्खेतका केन्द्रीय नेतामध्ये एक तत्कालीन कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भन्नुभएको थियो ‘म केही पनि बोल्न सक्दिन् ।’

सुर्खेतका चोक चोकमा प्रहरीको गोली र लाठी खाएका मध्यपश्चिमबासीले रगत बगाए । तर मध्यपश्चिमको अखण्डता र भौगोलिक विशेषतालाई मासिन दिएनन् । यसरी रोक्नै नसक्ने आन्दोलन चर्किएपछि अन्ततः तीन ठूला दलका स्थानीय नेताहरुले नै आन्दोलनको नेतृत्व गरे र प्रदेश ६ बनाई छाडे ।

आन्दोलित सुर्खेत लगायत मध्यपश्चिमबासी र स्थानीय नेताहरुका अगाडि कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गले । र प्रदेश नम्बर ६ घोषणा गरे ।

बाँके र बर्दिया बाहेक सिंगो मध्यपश्चिमबासीलाई प्रदेश ६ बनाउन ठूलो योगदान पुर्याएका सुर्खेतबासी सदरमुकाम वीरेन्द्रनगर नै प्रदेशको राजधानीमा हुनेमा ढुक्क छन् ।

सुर्खेत क्षेत्र नं. २ क बाट प्रदेशसभा चुनाव जितेका एमाले नेता यामलाल कँडेल प्रदेश ६ को राजधानी सुर्खेतलाई बनाउने विषयमा आफ्नो पार्टीले एक वर्ष अगाडि नै निर्णय गरिसकेको दाबी गर्नुहुन्छ ।

‘एमालेले एक वर्ष अगाडि नै ६ नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर बनाउने निर्णय गरिसकेको छ’ एमाले ६ नम्बर प्रदेशका सहसंयोजक र मुख्यमन्त्रीका दाबेदार कँडेलले भन्नुभयो ‘अरु पार्टी र व्यक्तिको भनाई फरक भएपनि सुर्खेतलाई राजधानी बनाउने विषयमा दुईमत छैन ।’ भौत्तिक पूर्वाधार,  भौगोलिक सुगमता, शान्ति सुरक्षा, शैक्षिक तथा प्रसाशनिक केन्द्र जस्ता कारणले सुर्खेत नै प्रादेशिक राजधानीका लागि उपयुक्त देखिएको छ ।  

साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि भएकोले सुर्खेतको बीरेन्द्रनगरमा क्षेत्रीय स्तरका सवै कार्यालयहरु छन । सबै क्षेत्रीय कार्यालयका आफनै भवनहरु छन । त्यसैले अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले पनि सुर्खेतलाई नै प्रदेश राजधानी बनाउन सिफारिश गरेको छ । यस्तै क्षेत्रीय प्रशासकको संयोजकत्वको भवन निरीक्षण टोलीले पनि सुर्खेतमै प्रदेश मन्त्रालय, प्रदेशसभा राख्ने भवनको सिफारिश गरेको छ ।

जुम्लाको पनि आफ्नै दाबी

प्रदेशको राजधानी कहाँ बन्ने भन्ने चर्चा चलिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा केहीले ६ नम्बर प्रदेशको राजधानी जुम्ला हुनुपर्ने पनि उल्लेख गरे । 
यसका  पछाडि जुम्ला क्षेत्र नं. १ क बाट प्रदेशसभातर्फ चुनाव जितेका माओवादी केन्द्रका नेता नरेश भण्डारीको अडान छ ।

६ नम्बर प्रदेशको केन्द्रबिन्दु र हुम्ला, मुगु, डोल्पा, कालिकोट लगायतका जिल्लाको पहुँच पुग्ने भएकाले जुम्ला नै प्रदेशको राजधानी हुनुपर्ने उहाँको दाबी छ ।
विकासका हिसाबले यसअघि पछाडि पर्दै आएको जुम्लालाई प्रदेश राजधानी बनाएर विकासमा अगाडि बढाउनुपर्ने मुख्यमन्त्रीको दाबेदार समेत रहेका भण्डारीको तर्क छ । तर प्रदेश ६ को मुख्यमन्त्रीका रुपमा अर्का दाबेदार माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेशसभाको बैठकले निर्विवाद रुपमा राजधानी तोक्ने बताउनुहुन्छ ।

‘सरकारले अस्थायी राजधानी सुर्खेत तोकेपनि स्थायी कहाँ हुन्छ ? भन्नेमा अन्यौल हुनसक्छ’ उहाँले भन्नुभयो ‘तर विवाद नगरीकन स्थायी राजधानी तोकिन्छ ।’ कालिकोटको क्षेत्र नं. १ ख बाट प्रदेशसभाको चुनाव जितेर ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका शाहीले पूर्वाधारका हिसाबले सुर्खेत उत्कृष्ट भएपनि अहिल्यै भन्न नसकिने बताउनुभयो ।

‘प्रदेशको राजधानी बनाउँदा पूर्वाधारको कुरा आउँछ । अहिले पूर्वाधारका हिसाबले सुर्खेत नै राजधानी हो । तर प्रदेशसभाको बैठकपछि कहाँ राजधानी राख्ने भन्ने टुंगो लाग्छ ।’ उहाँले भन्नुभयो ।

साभारः उज्यालो             Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like