पारसको टोलीको दोस्रो जित

काठमाडौं-राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।

कीर्तिपुर मैदानमा बुधबार भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले हरायो ।

पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन जोडेको थियो । विराटनगरले १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

विराटनगरको पालीमा प्रारम्भिक ब्याट्सम्यान अंशुमान रठले ६० रनले जोड्यो । बाबर हायातले २२ र कप्तान पारसले ११ रन बनाए । रठले ६१ बलमा दुई छक्का र ६ चौका प्रहार गरे ।

त्यसअघि पोखराको पालीमा राजेश पुलामी मगरले ३०, इस्रारुल्लाहले २१, सुनिल धमलाले १८ र ताज वालीले १८ रन बनाए । सौरभ खनाल १६ रनमा आउट भए ।

पारसले चार ओभरमा २८ रन खर्चिएर तीन विकेट लिएका थिए । विराटनगरका रठ प्लेयर अफ दी म्याच घोषित भए।

विराटनगर दुई खेलबाट चार अंक जोडेर तालिकाको शिर्षस्थानमा छ । प्रतियोगिताअन्तर्गत अहिले भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा भईरहेको छ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like