दार्चुला । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको मालसमान ब्यापार भएको छ ।
धार्मिक, सांस्कृतिक संगै व्यापारिक रुपमा महत्तपुर्ण मानीने मेलामा नेपाल भारत र चिनगरी तीन देशको सामान र संस्कृति देख्न पाइन्छ ।
स्थानिय बजारको तुलनामा केहि सुपथ मुल्यमा समानहरु पाइने भएकालेपनि दार्चुला, बैतडी लगायत शुदुर नेपालका केहि जिल्लाहरु, भारतको उत्तराखन्डका ब्यापारी र ग्राहकहरुको जौलजिबिमा घुइचो लाग्ने गरेको छ ।
पुर्खाैदेखी ब्यापारको लागी चिरपरिचित यो मेलाको महत्व अझै नघटेको स्थानिय जानकारहरुले बताउने गरेका छन । मेलाको लागि एक हप्ता पहिले तीब्बत लगायत नेपाल भारतका विभिन्न क्षेत्रबाट व्यापारी जौलजीवि पुगेर ब्यापार गरीरहेका छन ।
त्रीदेशीय सीमा कैलाश मार्गमा नेपाल भारत भएर बग्ने काली र गोरी नदीको संगमस्थलमा हरेक बर्ष लाग्ने मेलामा हजारौ दर्शक, ब्यापारी र ग्राहकहरुको घुइचो लाग्ने गरेको छ । व्रिटिश शासन कालमा अस्कोट पाल बंशवालीबाट यो मेला शुरु भएको किम्बंदन्ती छ ।
काली र गौरीको दोभानमा लाग्ने यो मेलामा प्राचिन समयमा टाढाबाट व्यापारीहरु नआउने भएपनि १९१४ मा तत्कालीन अस्कोटका राजा गजेन्द्र बहादुर पालले जौलजीवि ब्यापार मेलाको सुरुवात गरेको इतिहास छ ।
शुरुमा भारतका काशीपुर, रामनगर, मुरादाबाद, बरेली लगायतका व्यापारी बोलाएर मेला शुरु गरेको पाल बंशावलीमा उल्लेख छ । त्यसपछि मेलाको विस्तार हुँदै तिब्बतीयन व्यापारी सँग सम्पर्क हुँदै हाल आएर तीनै देशमा पाइने सामानहरु जौलजीवि मेला अवधिभर देख्न र किनबेच गर्न पाइन्छ ।
मेलामा ब्यापार गर्नकोलागी परापूर्व कालदेखि नै हरेक बर्ष हुम्ला, जुम्ला, बाजुरा, बझाङ लगायत हिमाली जिल्लाहरुबाट सयौ घोडाहरु जौलजिबि ल्याइने गरेका छन । दार्चुला, बैतडि र उत्तराखन्ड भारतको भु भाग ग्रामिण सडक सञ्जालमा नजोडिदासम्म बर्षेनी सयौ घोडाहरुको मेलामा ब्यापार हुदै आएको मा अहिले घोडाहरुको ब्यापार ह्वात्तै घटेको जुम्लाका ब्यापारी जयकृष्ण धरालाले बताउँनुभयो ।
यो बर्षको मेलाकालागी भनेर जुम्ला, बाजुरा र बझाङ जिल्लाबाट ७५ घोडाहरु ल्याइएको भएपनि खासै ब्यापार हुन नसकेको ब्यापारीहरुले बताएका छन । घोडाहरु हेरेर ५० हजारदेखी १ लाख ५० हजारसम्म बिक्रि गर्ने गरेको ब्यापारी धरालाले बताउँनुभयो ।
केहि बर्ष पहिले जौलजिबि मेलामा मानिसहरु टाढाटाढाबाट समेत घोडाहरु किन्न र हेर्नकोलागी आउने गरेकोमा बिस्तारै सडकसञ्जालले ग्रामिण बस्तीहरु सुगम बनाउँन थालेसंगै घोडाहरुको महत्त र प्रयोगमा गिरावट आउन थालेको छ । यद्धपि घर फर्कीनेबेला शुदुरपहाडका बस्तीहरुमा घोडाहरुको ब्यापार हुनेमा ब्यापारीहरु आसाबादी देखीन्छन ।