साउदीमा रुकुमेली युवाको सुतेकै ठाउँमा मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उहाँ रियादस्थित तुर्की कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ ।

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिनुभयो । रासस

You May Also Like