– हाम्रो सनातन परम्पराले गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर अर्थात् साक्षात् परब्रह्मा परमेश्वरको स्थान दिएर पुजेको छ । भनिन्छ, भगवान, माता–पिता तथा गुरुको वचन सदा शुभ हुन्छ । त्यसैले पौराणिक प्रसङ्गमा राम, कृष्णजस्ता भगवानले पनि गुरु–चरण स्पर्श गर्दै गुरु–आज्ञा शिरोपर गरेको देखिन्छ ।
त्यसैले आजको दिन शैक्षिक क्षेत्रमा गुरुहरू सम्मानित हुने गर्छन्, अनि शिष्यहरू आफ्ना गुरुजनबाट आशिर्वाद लिन तत्पर देखिन्छन् । चाहे अभिभावकलाई उपहार किनाएर रमाउँदै विद्यालय पुगेर गुरुप्रति कृतज्ञ हुने स–साना स्कुले नानीहरू हुन्, चाहे विभिन्न पेसा तथा क्षेत्रमा स्थापित भइसकेर पनि त्यसको श्रेय आफ्ना गुरुजनलाई दिँदै गुरुको सम्झना गर्नेहरू हुन्, सबैको जीवनमा गुरुको महत्त्व उत्तिकै छ । यस अर्थमा आजको दिन समस्त गुरु तथा शिष्य दुबैका लागि पावन मानिन्छ । गुरु तथा शिष्य दुबै भूमिकामा रहेको हुनाले म यस पर्वमा रमाउने गर्छु, तर रमाउँदा–रमाउँदै केही प्रश्नले मलाई सधैँ झस्काउने गर्छ । के म सही अर्थमा गुरु बन्न सकेँ ? के मैले सही अर्थमा गुरुको दायित्वबोध गरेर आफ्नो कर्तव्य पुरा गर्नसकेँ ? अझै गहन प्रश्न यो छ कि म एक्काइसौँ शताब्दीको गुरु बन्न सकेँ कि सकिनँ ?
आफ्ना प्रश्नको उत्तर खोज्दै म अतीतका गाथामा प्रचीन गुरुहरूको स्मरण गर्न पुग्छु । देवगुरु वृहस्पति र दैत्यगुरु शुक्राचार्यबीच तुलना गर्न थाल्छु । देवत्वको अहम्सामु पटक–पटक दायित्वबाट विमुख हुने वृहस्पति तथा दानव जातिको अधिकार र अस्तित्वका लागि सदा लडिरहने शुक्राचार्यबीच भिन्नता पाउँछु । ती प्राचीन गुरुहरूले पाएका अवसर, चुनौती अनि मानसम्मानलाई अहिलेको परिवेशसँग एकाकार गर्न खोज्छु । तर एकाकार हुनसक्दैन, किनभने एक्काइसौँ शताब्दीको गुरुसँग तपोबलबाट आर्जित दिव्य ज्ञान हुँदैन, अनि सञ्जीवनी विद्याको जादु पनि छैन । आजको गुरुले एकलव्यजस्तो शिष्य पनि पाउँदैन, जसले आफ्नो औँलो काटेर गुरुदक्षिणा चढाउँछ । कुनै शिष्यसँग रिस उठ्दैमा कर्णलाई झैं ‘तेरो विद्या आवश्यक परेका बेला काम नलागोस्’ भनी श्राप दिनसक्ने क्षमता पनि आजका गुरुसँग छैन । साह्रै निरीह छन्, आजका गुरु । किनकि न तिनले औँलाको दक्षिणा लिन सक्छन्, नत श्राप नै दिन सक्छन् । त्यसैले अतीतमा हरदिन सम्मानित हुने गुरु आज वर्षको एकदिन मात्र सम्मानित हुने गर्छ ।
गुरुको मान–सम्मान सीमित बन्दै जानुको पछाडि धेरै कारण हुनसक्छन्, विविध पक्ष यसका लागि उत्तरदायी बनेका होलान् । यिनको खोजी गर्नुपर्ने बेला अब आएको छ । हाम्रो परिवेशमा युग परिवर्तन भयो, मूल्य–मान्यता फेरिए, तर शैक्षिक क्षेत्रमा हुनुपर्ने परिवर्तन र सुधार भने केवल देखावटी हुनपुगे । गुरुपन र गुरुप्रतिको धारणामा खासै परिवर्तन आएन । विकसित मुलुकमा शिक्षण/प्राध्यापन पेसा सबैभन्दा सम्मानित र उच्च मानिन्छ भने हामीकहाँ यसलाई अति सामान्य मानिन्छ । अझ भन्ने हो भने दक्षता नहुनेहरूले अपनाउने पेसाका रूपमा अथ्र्याउने गरिन्छ । त्यसैले गाउँघरतिर आजभोलि पनि ‘केही गर्न नसके पनि छोराले मास्टर भएर त खाला’ भनेको सुनिन्छ । कहीँ कतै बिक्न नसकेपछि जाने अन्तिम विकल्पका रूपमा शिक्षण पेसालाई मानिने परम्पराको अन्त्य अझै भइसकेको देखिँदैन । यसलाई पुष्टि गर्न टाढा कतै जानै पर्दैन, नर्सरी पढ्ने बालबालिकादेखि विद्यालय शिक्षा पुरा गरी उच्चशिक्षा लिने तयारीमा रहेकाहरूलाई ‘तिमी भविष्यमा के बन्न चाहन्छौ ?’ भनी सोधे पुग्छ । उनीहरूको जवाफमा ‘म शिक्षक बन्न चाहन्छु’ भनेको सुन्न प्राय: पाइँदैन । उत्कृष्ट स्थानमा रहेको कुनै पनि विद्यार्थीले शिक्षण पेसालाई आफ्नो भविष्यको लक्ष्य बनाएको देखिँदैन । तर विडम्बना ! ऊ स्वयम् भने दक्ष शिक्षक भएको सुविधासम्पन्न शिक्षालयको खोजीमा हुन्छ ।
यही विरोधाभाषले पीडित भएको छ, एक्काइसौँ शताब्दीको गुरु । समाज र राष्ट्रलाई हाँक्नसक्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रको योग्यता, स्तर तथा सेवा–सुविधाबारे राज्यले ध्यान दिएको त देखिँदैन नै, बरु शिक्षाक्षेत्र राजनीतिको ‘प्रतीक्षालय’ बन्दै गएको देखिन्छ । निजी क्षेत्रले भौतिक सुविधाका भरमा विद्यार्थी आकर्षित गर्ने गरे पनि अधिकांशले दक्ष शिक्षकलाई बढी सुविधा दिनुपर्ने हुनाले कम लगानीमा सामान्य जनशक्ति प्रयोग गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको पाइन्छ । सरकारी विद्यालयमा हुने प्रत्यक्ष राजनीतिको आँकलन गर्न हालैको स्थानीय निर्वाचनमा टिकट निश्चित भएपछि राजीनामा गर्ने शिक्षकको विवरण नै पर्याप्त देखिन्छ । शैक्षिक क्षेत्रमा योगदान गर्ने विशेषज्ञ शिक्षकहरूको स्तर तथा सुविधा मापनका लागि पनि टाढा जानु पर्दैन । कुनै बेला सरकारले ‘उत्कृष्टताको केन्द्र’ घोषणा गरेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागलाई हेरे हुन्छ ।
प्राध्यापकहरूले सामान्य आर्थिक हैसियतका साथ जीवन गुजाराका लागि निजी विद्यालय धाउनुपर्ने बाध्यात्मक अवस्थाले उनीहरूको आर्थिक उपलब्धिको ऐना देखाइरहेको छ । निरन्तर परिवर्तनशील समयसँगै नवीन ज्ञानको खोजी गरी भविष्यका कर्णधारहरूमा त्यसको प्रसारण गर्नुपर्ने गुरु वर्ग परिवारको आर्थिक व्यवस्थापनका लागि दौडनुपर्ने बाध्यताले मलाई महाकवि देवकोटाको ‘दाल, भात, डुकु’ कविताको सम्झना गराइरहन्छ । मनमा पुन: प्रश्न उब्जने गर्छ, एक्काइसौँ शताब्दीको गुरु । आफ्ना शैक्षिक चुनौतीको सामना गर्दै ज्ञानको उत्पादन र वितरणमा निर्वाध लाग्न पाउने कि दाल, भात, डुकुको जोहोमा चिन्तित भइरहने ?
एक्काइसौँ शताब्दीको गुरु खिया लागिसकेका विचारको प्रवचन दिएर मात्र टिक्न सक्दैन । फाटिसकेको नोटबुक च्यापेर कक्षामा उभिएर सफल हुनसक्दैन । तयारी सिद्धान्तको टेपरेकर्डर फुकाएर आजको गुरुले शिष्यको मन जित्न सक्दैन । नत उसले पाप र श्रापको त्रास देखाएर शिष्यहरूलाई आफ्नो नियन्त्रणमा नै राख्न सक्छ । एक्काइसौँ शताब्दीको गुरु आपैंmमा एउटा चुनौती हो भने उसले निर्माण गर्ने जनशक्तिको विशिष्टता अर्को चुनौती हो । किनभने त्यो जनशक्ति स्वदेशमा मात्र नभई, भूमण्डलीकृत विश्व परिवेशमा समायोजित हुन सक्नुपर्छ । संसारभरिका सूचना खल्तीमा बोकेर हिँड्नुपर्ने यस शताब्दीको गुरुले हातमा चक–डस्टर अनि खुइलिएको नोटबुक लिएर कक्षामा जान सुहाउँदैन । त्यसैले अब गुरुको पुरातन विम्ब अनि परिभाषा र मान्यतामा परिवर्तन आवश्यक देखिन्छ । साथै आफूलाई उत्कृष्टतातर्फ मार्गदर्शन गराउने गुरुप्रति सम्मानभन्दा उपहास गर्ने शिष्य प्रवृत्ति पनि शोभनीय छैन ।
एक्काइसौँ शताब्दीको शिक्षालाई प्रभावकारी बनाउन गुरु र शिष्यको मानसिक परिवर्तनमात्र पर्याप्त हुँदैन । शैक्षिक क्षेत्रसँग सम्बन्धित नीतिमा नै परिवर्तन तथा परिमार्जन आवश्यक हुन्छ । अन्यत्र प्रतिस्पर्धा गर्न नसक्ने जनशक्तिलाई शैक्षिक क्षेत्रमा परिचालन गर्ने प्रचलनको अन्त्य गरी उत्कृष्ट जनशक्तिलाई यसतर्फ आकर्षित गर्नुका साथै शिक्षण पेसालाई पूर्ण प्रतिस्पर्धी बनाइनुपर्छ । गुरुको आर्थिक तथा सामाजिक हैसियत यस्तो बनाइनुपर्छ, ताकि उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीले पनि भविष्यमा शिक्षक बन्ने सपना देखुन् । एक्काइसौँ शताब्दीको यस्तै गुरुको कल्पना आजको दिनको सार्थकता हुनेछ ।