हवाइ उडान पुरानै अवस्थामा सञ्चालन हुनुपर्ने पर्यटन व्यवसायीको माग

काठमाडों । दुर्गम क्षेत्रमा दिउसो १२ बजेपछि उडान हुन नपाउने नागरिक उड्ययन प्राधिकरणको निर्णय उचित नभएको भन्दै सच्याउन कर्णालीका पर्यटन व्यवसायीहरुले अनुरोध गरेका छन् । मौसम अनुकूल उडान हुने कर्णालीमा सिमित हवाइ उडान गर्ने प्राधिकरणको निर्णय उचित नभएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देविकृष्ण रोकायाले बताए । प्राधिकरणले गत मंगलबारबाट दिउँसोको १२ बजेपछि दुर्गमका जिल्लामा उडान नगर्ने निर्णय गरेको थियो ।

मौसमका कारण उडान पर्खनुपर्ने बाध्यता भएको कर्णालीमा प्राधिकरणको यो निर्णयले नागरिकले झन सास्ती खेप्नुपर्ने भएकाले सच्याउन माग समेत उनले गरे । साथै शुक्रबार रोकायाको अध्यक्षतामा बसेको कर्णाली पर्यटन उद्यमी समाजको बैठकले पनी सरकारलाई उक्त निर्णय सच्याउन समेत अनुरोध गर्ने निर्णय गरेको छ ।

‘कर्णालीमा हवाइ यात्राबाहेक अरू विकल्प नभएका कारण उपयुक्त मौसम भएको समयमा हवाइ उडान हुनुपर्छ’ रोकायाले भने ‘प्राधिकरणको निर्णयले कर्णालीको पर्यटन क्षेत्रमा मात्र नभइ खाद्यान्न ओसारपसार लगायत विभिन्न क्षेत्रमा पनि मार पर्ने निश्चित छ ।’

साथै कर्णालीमा बर्षभर जहाज सञ्चालनका लागी हवाइ कम्पनीहरुले कर्णालीमै बिमान राखी उडान गराउनका लागी सम्बन्धित पक्ष संग समन्वय गर्ने र प्राधिकरण कार्यालय नेपालगञ्जबाट पनि उडान अनुमति लिन सक्ने प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनी बैठकले गरेको छ ।

कोरोना पछि बन्द हिल्सा नाका यथावत अवस्थामा सञ्चालन ल्याउन व्यवसायीहरुले अनुरोध गरेका छन् ।

You May Also Like