दक्षिण कोरियाका बाढी-पहिरो: अन्डरपासबाट निकालियो ७ जनाको शव

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।

दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ। अन्डरपासमा पानी भरिएपछि त्यहाँ एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका छन्।

अन्डरपासमा अरू धेरै मानिसहरू फसेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। उनीहरूको खोजी र उद्धारको प्रयास भइरहेको छ।

दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले १० जना मानिस बेपत्ता भएको र अहिलेसम्म झन्डै ८ हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको बताएको छ।

भारी वर्षाका कारण दक्षिण कोरियाको रेल सेवा पनि प्रभावित भएको छ।

मनसुनका कारण दक्षिण कोरियामा विगत चारदेखि भारी वर्षा भइरहेको जनाइएको छ।

You May Also Like