कर्णालीमा हालसम्म ४३ प्रतिशत रोपाइँ

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ४३ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका नि। प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाहारीमा धान रोपाइँ भएको बताए ।

साविक कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशक रोकायाले जानकारी दिए ।

गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँमा वृद्धि भएको छ । गतवर्षको यही अवधिमा कर्णालीमा झण्डै २८ प्रतिशत रोपाइँ सकिएको थियो । धान रोपाइँको जिल्लागत तथ्यांक हेर्ने हो भने दोस्रोमा डोल्पा जिल्ला परेको छ । डोल्पामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यस्तै दैलेखमा ३०, रुकुम पश्चिममा ३५, जाजजरकोटमा २७, सल्यानमा ४०, मुगुमा ४५, कालीकोटमा ४२ र हुम्ला जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४० प्रतिशतभन्दा माथि रोपाइँ भएको थियो ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैन ।

कर्णालीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ थालिएको थियो । कर्णालीको ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठूलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ । यसवर्ष सिँचाइका कारण रोपाइँमा ढिलाइ भएको भए पनि रासायनिक मल भने विगतका वर्षहरूमा जस्तो अभाव नरहेको निर्देशक रोकायको भनाइ छ ।

यस्तै कर्णालीको कूल ग्राहस्त उत्पादनको ४५ दशमलव ६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि दुई लाख १६ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।

खेती गरिने कुल जमिनमध्ये ३८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये १० हजार दुई सय ६८ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको कृर्षी निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक रोकायाका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध छ ।

You May Also Like