बालेनको निर्णयमा अदालतको ब्रेक

काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको र अदालतले आज आदेश जारी गरेको उनको भनाइ छ ।

यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।
फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत प्रष्ट हुने शाहको भनाइ छ ।

‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् । यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

You May Also Like