माओवादी केन्द्रमा फर्किने विप्लवको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् ।

पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेताहरुसँग संवाद जारी राखेका छन् । जसमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायत शक्तिसँग संवाद गरेका थिए ।

पछिल्लो समय एकीकृत समाजवादी र जसपासँग तत्काल समाजवादी मोर्चा वा सहकार्य हुने स्थिति नभएपछि माओवादी पृष्ठभूमिका नेताहरुसँग छलफल जारी राखेका छन् । महराले नेसपा, नेकपा र आमजनता पार्टीलाई एकता गर्न छलफल गरिरहेका छन् । त्यसमध्ये उनले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल गरिरहेको पार्टी सचिव गणेश शाहले बताए ।

अहिलेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले माओवादी पृष्ठभूमि पार्टीहरु एक ठाउँमा आउनुको विकल्प नरहेको शाहले जिकिर गरे । त्यसपछि अरु वामपन्थी कम्युनिस्ट शक्तिलाई पनि एकतावद्ध बनाएर जानुपर्ने बताए ।

You May Also Like