संसदीय सुनुवाइ समितिले पूर्णता पायो

काठमाडौं । आइतबार संघीय संसद्‌को संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको टुङ्गो लगाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका ४–४, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा १–१ जना सदस्य रहने गरी १५ सदस्यीय सुनुवाइ समितिलाई पूर्णता दिइएको छ।

अव समितिका सभापति चयन नहुञ्जेल जेष्ठ सदस्यको नेतृत्वमा बैठक बस्न सक्ने छ। उक्त समितिमा राप्रपाका पशुपति शमशेर राणा जेष्ठ सदस्यको रुपमा रहेका छन्। उनको नेतृत्वमा छिट्टै बैठक बस्ने तयारी रहेको संसद सचिवलायले जनाएको छ।

आइतबार नै संघीय संसद्‌को संयुक्त बैठकले संयुक्त समितिहरुको बैठक सञ्चालनसम्बन्धी नियमावली पनि पारित गरेको छ। उक्त नियमावलीअनुसार अव संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि सिफारिस भएका नामहरुलाई प्रक्रियामा अघि बढाउने छ।

संसदीय सुनुवाइ समितिमा २ वटा सिफारिसहरु रहेका छन्। अघिल्लो संसद् रहँदै गर्दा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका ३ नाम पनि विचाराधीन रहेको छ। त्यस्तै नयाँ संसद आएपछि वैशाख २५ गते संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरेको नाम पनि रहेको छ। यसअघि न्याय परिषद्‌ले २०७९ भदौ २१ गते उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो।

यी मध्ये गौतमले अवकाश पाइसकेकी छन्।

You May Also Like