विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा ३ हजार र स्मार्ट फोनबाहेकका अन्य मोबाइलमा २ सय रुपैयाँ कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।

२०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आईआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्ने छ ।

“आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि रू। तीन हजार र स्मार्ट मोबाइल फोनसेटबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट रू। २०० कर लाग्ने छ,” आर्थिक विधेयक २०८० मा भनिएको छ ।

तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई ६ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्ने छ ।

त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्क लगाएको छ । “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ,” आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो, सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइसक्नु पर्ने छ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाएर असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

You May Also Like