हुम्ला । हिमाल पारिको गाउँ लिमीका विद्यालयमा लगिने पाठ्यपुस्तक सदरमुकाम सिमकोट थन्किएका छन् । लिमी जाने ५ हजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेकाले लिमीका विद्यालयका लागि सदरमुकाम सिमकोटसम्म पुगेका पाठ्यपुस्तक विद्यालयमा पुर्याउन समस्या भएको नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
लिमीका सुनखानी र भृकुटी आधारभूत विद्यालयका १ सय २ जना विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्नैलाग्दा पनि पाठ्यपुस्तक नपाएको स्थानीयले गुनासो गरेका छन् । भौगोलिक विकटताले गर्दा लिमीका विद्यालयमा पाठ्यपुस्तक नपुगेको हो । विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक नपुगेकाले तिब्बतीय भाषाका पुस्तक र पुराना च्यातिएका पुस्तकबाट विद्यार्थीलाई पठनपाठन गराउनु परिरहेको वडाध्यक्ष तामाङले बताए ।
लिमी जाने बाटोमा हिउँ जमेकाले पाठ्यपुस्तक ल्याउन नसकिएको भृकुटी आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बताए । बालविकासदेखि ५ कक्षासम्म पठनपाठन हुने भृकुटी आविमा ५१ जना विद्यार्थी छन् । सबै कक्षाका पाठ्यपुस्तक विक्रेताबाट आफूले बुझेको भए पनि बाटो नखुल्दा विद्यालयमा पुर्याउन नसकिएको प्रअ बुढाको भनाइ छ । लिमी जाने बाटो खुलाउन वडा र गाउँपालिकासँग अनुरोध गर्दा पनि अहिलेसम्म कसैले चासो नदेखाएको बताए ।
सुनखानी आधारभूत विद्यालयका ५१ जना विद्यार्थीले पठनपाठन गर्ने ५१ सेट पाठ्यपुस्तक बाटो बन्द हुँदा बुझ्न कोही नआएकाले गोदाममै रहेको पाठ्यपुस्तक बिक्रेता रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले बताए ।
लिमी जाने बाटो खुलाउने प्रयास भइरहेको र बाटो खुलेपछि मात्र पाठ्यपुस्तक लिमी पुर्याउन सकिने नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए । उनका अनुसार जिल्लाका अन्य विद्यालयमा भने पुस्तक पुगिसकेका छन् ।