चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्षमा आएका छन्, तर पर्यटक बढेको अनुपातमा राजश्व बढ्न सकेको छैन ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छँदै वैशाखसम्म २ लाख ६३ हजार ८०६ पर्यटक आए । पछिल्लो १० वर्षमा यति ठूलो संख्यामा पर्यटक घुम्न आएका पहिलो पटक हो ।
तर, पर्यटक बढ्दा निकुञ्जको राजश्व भने सोचे जस्तो बढ्न सकेन । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जले २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८७ हजार १०९ पर्यटक मात्रै आउँदा निकुञ्जको राजश्व २९ करोड ४४ लाख ६६ हजार ६३९ पुगेको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा नेपाली पर्यटकसँग प्रति ब्यक्ति १५० रुपैयाँ, सार्क देशकासँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।
चालु आर्थिक वर्षको २ महिना बाँकी रहँदा अझै पर्यटक र राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए । ‘२९ करोडको हाराहारीमा यसपटक पनि पुग्ने अनुमान गरेका छौं, विदेशी पर्यटक बढ्ने वित्तिकै राजश्व पनि बढ्छ,’ सूचना अधिकारी तिवारीले भने ।
चालु वर्षमा १ लाख ८७ हजार २१७ नेपाली, सार्क देशका २७ हजार ८७४ र तेस्रो मुलुकका ४८ हजार ७१५ पर्यटकले निकुञ्ज घुमेका छन् । नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६१५ जना, सार्क देशका बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिनामै ८ हजार ८८२ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।
यसअघि गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आ.व. २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व.२०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो ।
निकुञ्ज भित्र जिपमा मात्रै पर्यटकहरू घुम्ने गरेका छन् । निकुञ्ज भित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिपको निकुञ्जले ५ हजार शुल्क लिने गर्दछ ।
चितवनमा मुख्य रुपमा निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटकहरू हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्ने पर्यटकले टिकट काट्नु पर्दछ ।
जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढी आउने गर्दछन् ।