भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने

काठमाडौँ । भोलि (बुधबार) संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ । अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

संयुक्त समितिहरु संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी दुई समिति सञ्चालनका लागि पनि छुट्टै नियमावली आवश्यक पर्ने हुन्छ ।

अघिल्लो संसद्को कार्यकालको नियमावली संशोधन गरेर पारित गरेपछि संयुक्त समिति गठन गर्ने योजना अनुसार सो नियमावलीको मस्यौदा बनाउनका लागि १६ सदस्यीय मस्यौदा समिति बनाइएको छ । सो मस्यौदा पारित भएपछि संयुक्त समिति गठन प्रक्रिया अघि बढ्नेछ ।

You May Also Like