उपसचिवलाई मुक्का हान्ने वडाध्यक्षद्वारा महिला सेवाग्राहीलाई दुर्व्यवहार भएपछि…

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिं विष्टले महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले वडाध्यक्ष विष्टलाई हत्कडी लगाएर पक्राउ गर्न अनुरोध गरेका छन् । सेवा लिनका लागि वडा कार्यालयमा आएका महिलाहरुमाथि उनले दुर्व्यवहार गरेको महिलाहरुको आरोप छ ।

आन्दोलन चक्रिएपछि यतिबेला प्रहरीहरु वडा कार्यालयमा तैनाथ गरिएको छ । विष्टले गुण्डाहरु प्रयोग गरेर आफूहरुमाथि दुर्व्यवहार गरेको बताएका छन् । ‘वडाध्यक्षले हामीलाई बाहिर जानुस् भनेर भने, हामी सेवा लिन आएको हो भन्दा उनले आफ्ना गुण्डाहरु प्रयोग गरेर हामीलाई बाहिर निकाल्ने प्रयास गरे,’ आन्दोलित महिलाहरुको भनाई छ ।

वडाध्यक्ष विष्टले केही समयअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिव नेत्र कार्कीलाई मुक्का हानेको भिडिओ भाइरल भएको थियो । नेकपा एमालेबाट निर्वाचित विष्टले वडा कार्यालयमा मनोमानी ढंगले चल्ने, कसैले भनेको नमान्ने गरेको सोही वडाका वडासदस्यहरु बताउँछन् ।

उनी आफ्नै व्यवहारका कारण पटक–पटक विवादमा आउने गरेका छन् ।

You May Also Like