राजनीतिक उथलपुथलले एकता प्रक्रिया स्थगित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच एकीकरण प्रक्रिया स्थगित भएको छ । दुई पार्टीबीच एकीकरणका लागि कार्यदल गठन गरी प्रक्रिया सुरु गरेको थियो । पटक–पटक बैठक बसेर एक अर्काको दस्ताबेज अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिसकिएको थियो । तर राजनीतिक उथलपुथलका कारण थप प्रक्रिया अगाडि बढेको छैन ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं कार्यदलका सदस्य गोविन्द चौधरीले दुई पार्टीबीच एकीकरण गर्ने सहमति भए पनि अहिले त्यसको प्रक्रियाहरू स्थगित भएको बताए । गत मङ्सिर ४ गते भएको चुनावभन्दा पहिलेदेखि नै दुवै दलको बीचमा एकीकरणका लागि प्रक्रिया सुरु भएको थियो ।

एकता प्रक्रिया अगाडि बढिरहेको बेला चुनावपछि सरकार निर्माणका कारण दलहरूको बीचमा भएको ध्रुवीकरणका कारण एकीकरणमा असर परेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बन्दा जसपाले एमालेलाई सघाएको थियो । त्यति मात्र होइन, मङ्सिर ४ गते भएको चुनावमा नेकपा (एस) समेत रहेको सत्ता गठबन्धनलाई छाडेर जसपा एमालेसँग चुनावी तालमेल गरेको थियो । त्यसले पनि एकीकरणमा असर पुर्‍याएको थियो ।

चुनावपछि पनि कार्यदलहरूको बीचमा एक दुई पटक छलफल भयो तर गठबन्धन टुट्ने भत्किने कारणले एकीकरणका लागि दलहरू त्यति उत्साहित देखिएनन् । पछि एमाले–माओवादीको गठबन्धन भत्किएर फेरि काँग्रेस–माओवादीको पुरानै गठबन्धन ब्युँताइएको थियो । जसपा–नेकपा (एस) पुनः एउटै गठबन्धनमा आए पनि एकीकरण प्रक्रिया भने सुरु भएन ।

गठबन्धन बन्ने भत्किने, सरकार बन्ने भत्किने कामले गर्दा दलहरू व्यस्त भएका कारण एकीकरणको प्रक्रिया अगाडि नबढेको बताउँदै नेता चौधरीले पछिल्लो समय उपनिर्वाचनमा पनि दलहरू व्यस्त भएको र अब बिस्तारै राजनीति स्थिर हुँदै गएकाले छलफलको प्रक्रिया पुनः अगाडि बढाइने बताए ।

नेता चौधरीका अनुसार दुवै पार्टीका दस्ताबेज अध्ययन गरिसकेपछि त्यसको एकीकृत प्रतिवेदन बनाउने जिम्मेवारी नेकपा ९एस०का उपमहासचिव डा।विजय पौडेललाई दिइएको थियो । त्यो प्रतिवेदन कार्यदलको बैठकमा पेस गर्न बाँकी रहेको छ ।

दुवै दलबीच एकताका लागि नेकपा ९एस०को तर्फबाट उपाध्यक्ष डा वेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । दुवै समितिले बैठक बसेर एकताका लागि विभिन्न एजेन्डा तय गरेको थियो । सोही एजेन्डामा छलफल गरेर प्रक्रिया अगाडि बढेको थियो ।

दुवै पार्टीले अँगालेको विचार, सिद्धान्त, राजनीतिक मुद्दाको विषयमा अध्ययन भएको छ । जसपाले नागरिकताको समस्या, संविधान संशोधनलगायतका विषय पनि उठाएको छ । राज्य पुनर्संरचना, शक्तिको बाँडफाँटलगायतको विषयमा पनि अध्ययन भएको छ । शासन प्रणाली कस्तो राख्ने त्यस विषयमा पनि छलफल भएको छ । एकताको क्रममा उठ्ने जटिल विषय र सामान्य विषयलाई सूचीकृत गर्ने काम पनि भएको छ । जटिल विषयलाई नेतृत्व तहबाट टूग्यांउने तय भएको थियो ।

You May Also Like